विराटनगर । विराटनगर– १३ घर भएका ३९ वर्षीय कलेजो प्रत्यारोपण विशेषज्ञ डा.सुजितकुमार साहको भारतको नयाँ दिल्लीमा भएको मृत्यु रहस्यमय रहेको भन्दै परिवारले छानविन गरि दोषि देखिए कारवाहीको दायरामा ल्याउन माग राखेका छन् ।
रहस्मय तरिकाले मृत्यु भएकोले घटनाको छानबिनका लागि नेपाल सरकार र सरोवाकारवाला निकायले गहन भूमिका निर्वाह गरि दोषीलाई कारवाहीको दायरमा ल्यानुपर्ने साह परिवारको माग छ ।
भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत डा.साहको भदौ १६ गते ३ बजे नयाँ दिल्लीस्थित आफू बस्ने फ्ल्याटको भुइँमा शव फेला परेको थियो । डाक्टर साह विगत चार वर्षदेखि मेदान्तमा लिभर ट्रान्सप्लान्ट युनिटमा कन्सल्ट्यान्टका रुपमा कार्यरत थिए ।
डा. सुजित अर्पाटमेन्टमा एक्लै बस्दै आएका थिए । उनको हिमाचल प्रदेशको लक्ष्मी शंख्या चिकित्सकसँग सन् २०१० मा विवाह भएको थियो । उनीहरुबाट ६ वर्षीय छोरी पनि छिन् । छोरी मामा घरमा बस्दै आएकी छिन् ।
पछिल्लो समय साह र उनकी श्रीमतीबीच राम्रो सम्बन्ध नभएको र श्रीमतीले सम्बन्ध विच्छेदका लागि दबाब दिँदै आएकी थिइन् । त्यही दबाबले छोराको रहस्यम तरिकाले मृत्यु भएकोले गहन अनुसन्धान गरि छानविन हुनुपर्ने डाक्टर साहकी आमा फुलकुमारी देवी साहले बताउनु भयो । मृतक साहको काका वीरेन्द्र साहले घटना रहस्यम रहेकोले छानबिन र नेपाल सरकारले पहल गरिदिनुपर्ने बताउनु भयो ।
डा. साहको रहस्यमय मृत्यु रहेको भन्दै नेपाल चिकित्सक संघले छानबिनको माग गरेको छ । एक विज्ञप्ति निकालेर संघले घटनाको छानबिनका लागि नेपाल सरकार र सरोवाकारवाला निकायले गहन भूमिका निर्वाह गर्न आग्रह गरेको छ । संघका महासचिव डा.बद्री रिजालले उक्त घटना रहस्यमय भएको र के कारणले घटना भएको भन्नेबारेमा अथार्थ विवरण बाहिर ल्याउन माग गरेका छन् । संघले डा.साहको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।
को हुन् डाक्टर सुजित कुमार साह ?
नरेन्द्र प्रसाद र फूलकुमारी देवी साहकी कान्छो छोरा हुन् डाक्टर सुजित कुमार साह । चिकित्सा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमै उचाइ लिँदै गरेका विराटनगर घर भएका डाक्टर सुजितकुमार भारत मात्र नभएर एसियाकै अब्बल अस्पतालको रुपमा रहेको मेदान्तको कलेजो प्रत्यारोपण सर्जन हुन् ।
जनकपुरको जानकी आवासीय माविबाट एसएलसीसम्मको अध्ययन पूरा गरेपछि डा. साहले सेन्ट जेभियर्स कलेज माइतीघरबाट आईएससी उत्तीर्ण गरेका थिए । आइएससीपछि उनले मणिपाल मेडिकल कलेज पोखराबाट एमबिबिएस गरेका हुन् । नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका डा. साहले २ वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका विभिन्न जिल्लामा गएर काम गरेका थिए । छात्रवृत्तिको करार सकिदै गर्दा उनले भारतको स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान, चण्डीगढबाट एमएस छात्रवृत्तिमा पढेका थिए ।
साहले छोटो समयमै कलेजो प्रत्यारोपणका लागि कुशल चिकित्सकको परिचय बनाए । त्यसपछि उनलाई रोबोटिक लिभर ट्रान्सप्लान्टको विशेषज्ञका रुपमा परिचित भए । सहकर्मीहरुबीच डा. साह निकै मिलनसार र सरल व्यक्तिका रुपमा परिचित थिए ।