लोड हुँदैछ...

मेनु

अर्थमन्त्री डाक्टर खतिवडाको कार्यकाल समीक्षा

योजना कार्यक्रम आए, सिस्टमले काम गर्न सकेन

योजना कार्यक्रम आए, सिस्टमले काम गर्न सकेन

डाक्टर युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्ति भएको सुवातमा निक्कै जोष, जाँगर र आशा थियो । किनभने मन्त्रीज्यू, योजना आयोगको उपाध्यक्ष पछि राष्ट्र बैंकको गभर्नर हुँदै अर्थमन्त्री बन्नुभएको थियो । उहाँको पृष्ठभूमिले पनि देशको आर्थिक प्रारुप कस्तो छ भन्ने कुराको पुरै अनुभव उहाँसँग थियो । निजी क्षेत्रमा पनि छिट्टै नै राम्रो होला र एउटा लेबलको फड्को मार्न सकिएला भन्ने थियो । अर्थमन्त्रीले बजेट तथा नीतिमा राम्रा कुरा ल्याउनु पनि भयो । तर, अर्थमन्त्री अलिक बढी करमुखी भएर आउनु भयो (जस्तैः चिनीको कुरा गरौं) । बजेटमा औद्योगिकरणलगायतका कुराहरु पनि समेटिए । तर, जुन अवस्थाबाट समेट्नुपथ्र्यो र जुन अवस्थाबाट मूल्यांकन हुनुपथ्र्यो त्यो भएन ।

निजी क्षेत्रलाई जति सरकारले जति चलाउन सक्यो, जति सुविधा दियो त्यति बढी अर्थतन्त्र चलायमान हुने हो । सेज ऐन आउन सकेन, औद्योगिक क्षेत्र निर्माण हुन सकेन । योजनामा त छ तर, अझै आउन सकेन । अब पनि हामी त्यही विषयलाई ५ वर्ष १० वर्ष पर्खिन सक्दैनौं । यस्तै निर्यातको कुरामा पनि अर्थमन्त्रीज्यूले अलिक फोकस गरिदिनुभएको भए हुनेथियो । निर्यातलाई इन्सेन्टिभ दिने कुरा ल्याएको भए हुनेथियो । आन्तरिक स्रोतको परिचालनका लागि अरु कार्यक्रम र योजनाहरु आएको भएपनि हुन्थ्यो । तर, यि कुराहरु केही सम्बोधन भएपनि त्यसलाई कार्यान्वयन गर्ने तहमा दबाब पुगेन कि जस्तो मलाई लाग्छ ।

अहिले हाम्रो अर्थतन्त्र चाहिं कृषिमा आधारित बढी भयो । त्यो उद्योगमा आधारित अर्थतन्त्र हुनुपथ्र्यो । अरु जति पनि संसारका सशक्त अर्थतन्त्र भएका मुलुकहरु छन् तिनिहरुको सुरुको अवस्था भनेको कृषिमा आधारित नै अर्थतन्त्र हो । उनीहरुले पछि कृषि उत्पादनलाई औद्योगिक उत्पादनमा रुपान्तरण गर्न सके । तर, हामीले कृषिलाई औद्योगिक उत्पादनमा रुपान्तरण गर्न सकेनौं । यो हाम्रो लागि सबैभन्दा ठूलो दुर्भाग्यपूर्ण हो । हाम्रो अहिले जिडिपिमा कृषिको ३०/३२ प्रतिशत योगदान छ भने, उद्योगको पहिले १४/१५ प्रतिशत थियो । अहिले उद्योगको त्यो प्रतिशत पनि घट्दै ७/८ प्रतिशतमा आइपुगेको छ । यो उल्टो भयो । यो उद्योगको योगदान बढ्दै जानुपर्थ्यो र कृषिको योगदान घट्दै जानुपर्थ्र्यो, त्यहाँ हामी चुकेका छौं । कृषिमा ५ प्रतिशतको लगानीलाई १५ प्रतिशतसम्म पु¥याएको छ । तर, कृषिमा आधुनिकीकरण बनाउनु सकिएन ।

हाम्रो परनिर्भरतालाई हटाउन निर्यातलाई विकल्प बनाउनु पर्थ्यो । हामी आयात बेस अर्थतन्त्रमै रमाएर बस्यौं । यसको मतलब हामी निर्माण र उत्पादन आधारित भएको भए उत्पादन बढ्थ्यो, परनिर्भरता घट्थ्यो, व्यापार घाटा विस्तारै कटौती गर्दै जान्थ्यौं । त्यो तथ्यांक चाहिं हाम्रो परिवर्तन भएन । अर्को कुरा हाम्रो सेवा क्षेत्रलाई पनि हामीले त्यो स्तरबाट चलायमान गर्न सकेनौं । यस्तै ठूलो राजस्व उठ्ने ठाउँ पर्यटनलाई सुविधा दिनुपर्ने, राहत दिनुपर्ने ठाउँमा पनि हामी चुकेका छौं । यस्तै हामीसँग भएका कृषिमा आधारित मूल्य अभिवृद्धि हुने खालका वस्तुहरु छन् तिनहरुलाई उत्पादनतर्फ लगेर वस्तु प्रशोधन गरी प्याकेजिङ, ब्राण्डीङ र मार्केटिङ गरेर तेस्रो मुलुक निर्यात गर्न पाएको भए त्यसक्षेत्रबाट किसानसमेत लाभान्वित हुनेथियो ।

निर्माणका काममा पनि हामी काँही न काँही चुकेका छौं । बजेट पनि छुट्टीएको छ । तर, समय सापेक्ष काम भएन । हामीले उत्पादन गरेर मात्रै पनि भएन । त्यसका लागि पनि भौतिक पूर्वाधार चाहियो, बाटो, पुल चाहियो । मैले सेजको कुरा गरें त्यो पनि औद्योगिक क्षेत्रको उत्पादनसँग, पूर्वाधारसँग जोडिएको कुरा हो । ति कुरामा हामी कतै न कतै चुकेको अवस्था हो । त्यसैले गर्दा पनि हामीले सोचे अनुसारकोे परिणाम हासिल गर्न सकेनौं ।

सिस्टमकै समस्या हो

अर्थमन्त्रीज्यू विज्ञ हुनुहुन्छ । त्यमसा दुई मत नै छैन । योजना आयोगदेखि गभर्नर हुँदै अर्थमन्त्री हुनुभएको छ । उहाँको विज्ञतामा म कुनै कमजोरी देख्दिन । तर म चाहिं के भन्छु भने मुख्य कुराहरु समेटेर बजेट आएको छ, नीति पनि आएको छ । तर, सिस्टमले त्यसलाई जसरी समातेर अगाडि बढ्नु पथ्र्यो, त्यो चाहिं गर्न सकेन । त्यो कारणले यो अवस्था आएको हो ।

अर्थमन्त्रीले ल्याएको राम्रो कुरा भनेको आन्तरिक उत्पादनलाई प्राथमिकता दिने कुरा हो । त्यसले केही न केही सकारात्मक असर देखाको छ । नेपालमा उत्पादित वस्तुलाई अन्य देशबाट आयातमा कडाइ गरिएको छ त्यो राम्रो हो । निर्यातलाई बढाउन नसक्नुमा समस्या भयो, उत्पादनमा बढावा दिन सकेनौं । तर, मैले देखेको खास समस्या भनेको सिस्टममा छ । सिस्टमले कार्यक्रम र योजना कार्यान्वयन गर्ने हो । अर्थमन्त्रीले त योजना र कार्यक्रम दिनुभयो । तर, त्यसलाई कार्यान्वयन गर्नका लागि सिस्टमलाई नै चलायमान गर्न सक्दैनौं भने अहिलेको अवस्थालाई सम्बोधन गर्न सक्दैन । राज्यले मल नल्याउनु पनि भनेको होइन, तर सिस्टममा समस्या छ । सरकारले निर्णय पनि गरेको छ, बजेट पनि छुट्याएको छ । तर, किसानले धान काट्ने समयमा मल आउँछ, रोपेपछि हाल्ने युरिया मल अहिलेसम्म आएको छैन । भनेपछि यही सिस्टमबाट हामीले अर्थतन्त्रमा सुधार कसरी गर्न सक्छौं ? त्यसको प्रभाव त डिजिपीमा पर्छ ।

विराटनगरको माग सेज आउनु पथ्र्यो, विराटनगर पहिलो औद्योगिक क्षेत्र हो । यहाँ सेज आउनु पर्थ्र्यो । विराटनगरमा औद्योगिक करिडोर भनिए पनि नयाँ उद्योगहरु आउन सकेनन् । अरु उद्योगहरु ल्याउनका लागि नितीगत सुधार नै गर्नुपर्छ । त्यो सुधार हुन पनि सकेन । कसैको लागि पश्चिम नेपाल, कसैको लागि २ नम्बर प्रदेश वा कसैको लागि १ नम्बर प्रदेशमा उद्योगहरु स्थापना गर्ने उपर्युक्त स्थान हुनसक्छ । तर, हामीले समग्रमा हेर्दा नेपालको विकासका लागि हेर्ने हो भने समय, परिस्थिति र वातावरण सुहाउँदो कुराहरु सम्बोधन नगरेकै कारण हामी ढिला भएका छौं । हामीले कैयौं वर्षदेखि एफडिआइ इन्भेष्टमेन्ट भनिरहेका छौं । तर, नेपालमा आएको छैन । त्यही भारतमा आएको छ । तर, नेपालमा नआउने कारण के हो ? ति कारणहरुको पनि खोजी गर्नुपर्दछ ।

कोरोनाको असर कति ?

अहिले कोभिडको असर चाहिं हाम्रो देशमा । अरु देशहरुमा लकडाउन खुलिसक्यो । त्यहाँको अर्थतन्त्र चलायमान भयो । उनीहरुको हेल्थ ब्याकअप सिस्टम धेरै राम्रो छ । हाम्रो हेल्थ ब्याकअप सिस्टम राम्रो नभएको कारण अहिले पनि लगभग ५० वटा जिल्लामा निषेधाज्ञाको अवस्था छ । यो अवस्था यसरी नै लम्बिदै जाने हो भने भोली कसरी निर्भर रहने । आम जनतामा पनि यसले ठूलो असर गरिरहेको अवस्था छ । भोली कृषि उत्पादन हुन सकेन, औद्योगिक उत्पादन हुन सकेन, उत्पादित बस्तुले बजार पाउन सकेन भने समस्या हुन्छ । किनकी हाम्रो आवश्यकता पूर्ति गर्नका लागि आयात बढ्छ र अहिले कम भइरहेको आयात फेरि बढ्न सक्छ । त्यतिबेला वस्तुहरु महंगाई पनि बढ्न सक्छ । ति कुराहरुमा पनि सन्तुलन कायम गर्न नसकेको अहिलेको अवस्था देखिन्छ । सबैभन्दा ठूला कुरा कोभिडको समयमा कमसेकम संसारभरी सबै देशमा राहत प्याकेज ल्याइयो । तर, यहाँ चाहिं निजी क्षेत्र (व्यापारी) आफैं नै त्योसँग जुध्नु प¥यो र आफैंमा निर्भर रहनुप¥यो । यो अवस्था भनेको असामान्य अवस्था हो । यो अवस्थामा हिंजोको दिनमा निजी क्षेत्रकै कारणले अर्थतन्त्र चलायमान छ भने गाह्रो अप्ठ्यारो पर्दा अभिभावक (सरकार)ले हेर्नुपथ्र्यो । त्यसको केन्द्रमा सरकार र अर्थमन्त्रालय, अर्थमन्त्री नै मुख्य हो । त्यो राहत प्याकेज आएन । त्यसका बाबजुद पनि लकडाउन खुल्यो, उद्योग व्यवसाय संचालन हुन थाले आफैं निर्भर हुन थाले । तर, पुनः केही समयमा क्षेत्र अनुसार लकडाउन सुरु भयो । अहिलेको विकराल अवस्थामा पनि राज्यले त्यसलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ । त्यसमा हाम्रो आशा के थियो भने सबै विषय बुझेको अर्थमन्त्रीले ध्यान दिनुहुन्छ भन्ने थियो । तर, त्यतातिर पनि ध्यान गएन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।