अब जनजीवन सामान्य बनाउनुपर्छ : मन्त्री कार्की

विराटनगर । प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सुरक्षा र सतर्कता अपनाएर अब जनजीवनलाई सामान्य बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।

कोरोना महामारीका कारण उत्पन्न असहज परिवेष लामो हुँदा नागरिक नै समस्यामा परेकोले अब यसलाई सहज बनाउँदै लकडाउन र निषेधाज्ञाको विकल्प खोज्नुपर्ने देखिएको मन्त्री कार्कीको भनाइ छ ।

बिहीबार मन्त्रालयमै आयोजित सञ्चारकर्मीसँगको छलफलमा मन्त्री कार्कीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेको प्रयास, त्यसमा भएका कमजोरी र आगामी दिन सरकारको तर्फबाट गर्नुपर्ने कामहरुको विषयमा सुझाबसमेत लिनुभएको थियो । सबै क्षेत्रसँग छलफल गरेर प्राप्त सुझावका आधारमा प्रदेश सरकारले केही दिनभित्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ निर्णयहरु लिने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

‘तपाईहरुले दिने सुझाव र छलफलको निष्कर्श म मुख्यमन्त्री समक्ष पु¥याउने छु,’ मन्त्री कार्कीले भन्नुभयो ‘यिनै निष्कर्शहरुका आधारमा सरकारले केही दिनभित्रै महत्वपूर्ण निर्णय गरेर कोरोना रोकथामका लागि नयाँ ढंगले अघि बढ्ने प्रयत्न गर्नसक्छ ।’ नागरिकहरु अनुसाशित नहुँदा कोरोना रोकथामका लागि अहिले अभ्यास गरिएको लकडाउन र निषेधाज्ञा प्रभाबकारी नभएकोले सरकारले फरक ढंगबाट अगाडि बढ्नुपर्ने सोचिरहेको उहाँले बताउनुभयो ।

सामाजिक दुरी कायम गर्ने, स्वास्थ्य सम्वन्धी न्यूनतम मापदण्डहरु इमान्दारिसाथ पालना गर्ने र सबै पेशा व्यवसायलाई सुचारु गराउँदै जनजीवनलाई सहज बनाउनुको विकल्प नभएको मन्त्री कार्कीको भनाइ छ । उपचारका लागि औषधि र भ्याक्सिन नभएको अवस्थामा बिस्तारै वैकल्पिक विधि अवलम्वन गर्दै अघि बढ्न जरुरी भएको उहाँको भनाइ थियो । त्यसको लागि जोखिममा रहेकाहरुलाई आइसोलेट गरेर अरुले दैनिकीमा फर्कनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री कार्कीले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारका तर्फबाट व्यवस्थापकीय पाटोमा केही कमजोरी रहेको र त्यसलाई सच्याउँदै अघि बढ्ने पनि बताउनुभयो । तत्काल विद्यालयहरु सुचारु गर्नुपर्छ भन्ने सुझावहरु आएपनि केही समय त्यसो गर्न हुँदैन भन्ने आफुलाई लागेको बताउनुभयो । छलफलका क्रममा सञ्चारकर्मीहरुले कोरोना महामारीका कारण प्रदेशको सञ्चार क्षेत्र नराम्ररी प्रभावित भएको र त्यसको संरक्षणका लागि सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतमले अन्य क्षेत्र जस्तै प्रेस जगत कोरोनाका कारण भएको लकडाउन र निषेधाज्ञा तथा उद्योग व्यवसाय बन्द भएका कारण उत्पन्न संकटको चपेटामा परेको बताउनुभयो । उहाँले प्रदेशका ३० भन्दा बढी दैनिक पत्रिका, ७० भन्दा बढी साप्ताहिक पत्रिका र कतिपय रेडियोहरु बन्द रहेको भन्दै सरकारले त्यस्ता सञ्चार गृहको विषयमा ध्यान दिनुपर्ने र उनीहरुलाई सहयोग हुने गरी काम गर्नुपर्ने बताउनुभयो । कोरोनाको कारण संकटमा रहेका सञ्चारकर्मीलाई फेलोसिप दिने र प्रदेश सरकारले प्रेस सम्वन्धि कतिपय कानून बनाएर आवश्यक कामलाई व्यवस्थित गर्नसक्ने सुझाव पनि उहाँले दिनुभएको छ ।

अग्रज पत्रकार मोहन भण्डारीले नागरिकहरुलाई महामारीको सचेत गराउँदै अनुशासित बनाउने काममा सरकारले मिहेनत गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले समानुपातिक विज्ञापन नीति र स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमकै अधिकार हो भन्ने विषय अब सरकारले कार्यान्वयन गर्नुपर्छ भन्नुभयो ।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले कोरोनाको कारण संकटमा परेका सञ्चारकर्मीको लागि फेलोसिपको कार्यक्रम ल्याउन सुझाब दिनुभयो । फेसोसिप दिएर सञ्चारकर्मीहरुलाई परिचालन गर्नसक्ने कोरानो नियन्त्रणमा भएका काम कारबाहीको सकारात्मक पक्ष र कमजोरीहरु उजागर हुने उहाँको भनाइ थियो ।

छलफलमा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, प्रेस संगठन नेपाल, मोरङका संयोजक सुदिप कोइराला, सहसंयोजक गोकुल पराजुली, पत्रकारहरु मिनल बुढााथोकी, श्यामसुन्दर सुतिहार, तारा आचार्य, ब्रम्हदेव यादवलगायतले सुझाब दिनुभएको थियो ।

बिहिबार, १८ भदौ, २०७७, दिउँसोको ०२:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर