पाँचथर । जिल्ला कारागार पाँचथरका एक बन्दीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका फिदिम नगरपालिका ६ का ४० वर्षीय पुरुषलाई संक्रमण देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासत हुँदै उनी ५ दिनअघि अदालतको आदेशबाट कारागार चलान भएका थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार कारागारमा उनीसँग तीनजनालाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा एक जनामा कोरोना देखिएको हो ।
कारागार प्रमुख सुरेन्द्र मुखियाका अनुसार संक्रमित व्यक्तिसँगै रहेका अन्य दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । पाँचथरमा कोरोना संक्रमण नफैलिएको भएपनि विराटनगरबाट सरुवा भएर आएका प्रहरीमा कोरोना देखिएको थियो । प्रहरीबाटै बन्दीमा कोरोना सरेको अनुमान गरिएको छ ।
कारागारका बन्दीमा कोरोना देखिएपछि थप सजगता अपनाएको कारागार प्रशासनले जनाएको छ । पाँचथर कारागारमा १ सय ३० जना पुरुष, १६ महिला र दुई बालकसहित १४८ कैदीबन्दी छन् ।