इटहरी । इटहरी उपमहानगरपालिकाका उपप्रमुखले सुत्केरी आमासँगको भेटघाट अभियान सुरु गर्नुभएको छ । विगत वर्षदेखि नै उपमहानगरको नियमित बजेट मार्फत उपमेयर सुत्केरी भेट कार्यक्रम सञ्चालन हुँदै आएकोमा यस आर्थिक वर्ष पनि त्यसलाई निरन्तरता दिइएको हो ।
चालु आर्थिक वर्षमा उपमेयर लक्ष्मी गौतमले इटहरीका १० जना सुत्केरीलाई पोषिलो खानेकुराका साथ घर घरमै गएर भेट गर्नुभयो । स्वास्थ्यकर्मीको टोली सहित सुत्केरीहरुका घर पुगेर उहाँले स्वास्थ्य अवस्था जानकारी लिने, सुत्केरी अवस्थामा आमा र बच्चाका लागि आवश्यक पर्ने पोषणको बारेमा जानकारी दिने तथा आवश्यक परामर्श दिने काम उहाँले गर्दै आउनुभएको छ ।
विपन्न तथा गरीब परिवारका महिलाहरुले सुत्केरी अवस्थामा प्रयाप्त पोषणयुक्त खाना खान नपाउने अवस्था छ । त्यस्तो अवस्थामा उपमहानगरपालिकाको तर्फबाट उपलव्ध हुने सीमित पौष्टिक आहारले पनि धेरैलाई राहत पुग्ने गरेको छ ।
‘कोरोनाका कारण कतिपय बेरोजगार बनेका छन् र पेशा व्यवसाय खुलारुपमा गर्नसक्ने अवस्था छैन,’ उपप्रमुख गौतमले भन्नुभयो ‘कतिले त मलाई फोन गरेरै कहिले आउनुहुन्छ भेट्न भनेरै सोध्नुहुन्छ ।’ उपप्रमुख गौतमले सबै सुत्केरीहरुलाई भेट गर्न नसकेपनि अभियानलाई भने निरन्तरता दिइरहेको बताउनुभएको छ । उपमेयर सुत्केरी भेट कार्यक्रमले राहत र हौसला मिलेको प्रतिक्रीया सुत्केरी आमाहरुले दिने गरेका छन् ।