विराटनगर । विराटनगरमा शनिबार विहान मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एक प्रहरी हवल्दारको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत सप्तरीको बलान घर भएका हवल्दार विजयकुमार मण्डलको दुर्घटनामा परेर मृत्यु भएको हो।
कार्यालयकै मोटरसाइकलमा निस्किएका बेला उनले चलाएको को १ प २११५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार इनरुवा नगरपालिका–९ बबिया मोडस्थित भित्री सडक खण्डमा बिजुलीको पोलमा ठोक्किएर भएको दुर्घटनामा उनी घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी हवल्दार मण्डललाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल घुम्तीमा आफैं अनियन्त्रित भएर दुर्घटना भएकोले अनुसन्धान सुरु गरिएको छ ।