बेलबारीमा ग्याङ फाइट : एक जनाको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका ५ कसेनीको लोहन्द्रा खोलामा भएको ग्याङ फाइटमा एक जनाको मृत्यु भएको छ ।

घटनामा परि घाइते भएका एक जना युवाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

स्थानीय दिनेश श्रेष्ठको समूहले खुकुरी प्रहार गरि ४२ वर्षीय सईकुमार राई, ३५ वर्षीय समुन्द्र राई, १६ वर्षीय गौरव राई घाइते भएका छन् । उनीहरूको उपचार बिराट टिचिङ हस्पिटलमा भइरहेको छ ।

शुक्रबार दिउँसो भएको ग्याङ्ग फाइटमा बेलबारीका चन्द्रकुमार राईको मृत्यु भएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । खुकुरी प्रहार गरि घाइते भएको राईको मोरङको बुढीगंगा गाउँपालिका २ टंकिसनवारीस्थित विराट टिचिङ हस्पिटलमा शुक्रबार ३ः१० मा मृत्यु भएको प्रहरीको भनाइ छ ।

‘बिहीबार साँझ दुवै पक्षबीच मदिरा सेवन गरि सामान्य वादविवाद भएको रहेछ,’ मोरङ प्रहरीका प्रमुख एसपी खड्काले भन्नुभयो, ‘त्यहि विवादको कारण शुक्रबार विहान बेलबारी ५ कसेनीको पुलमा ग्याङ्ग फाइट भएको रहेछ ।’ बेलबारी ५ कसेनी स्थित लोहन्द्रा पुलमा सोही ठाउँका ३२ वषीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगरले धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने जितेन चौधरी समेत घाइते छन् । उनको पनि उपचार भइरहेको छ । धारिलो हतियार प्रहरीले बरामद गरेको छ । घटनमा संलग्न तीन जना फरार छन् । फरार हुनेहरू दिनेश श्रेष्ठ, बिक्रम राई र सन्तोष मगर हुन् ।

आक्रमण गरेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक ऋषिराज ढकालको नेतृत्वको टिमले फरार भएकाहरूको खोजी कार्य तीब्र बनाएको जनाएको छ ।

शुक्रबार, १२ भदौ, २०७७, दिउँसोको ०४:४८ बजे

प्रतिक्रिया

  1. लाइसेंस प्राप्त व्यक्तिले मात्र मदिरा बेच्न पाउने र तोकिएको उमेर समूह को मान्छे ले किन्न र घरमा लगेर खान पाउने व्यवस्था अब स्थानीय सरकार ले मिलाउनु पर्छ।

प्रतिक्रिया:

सम्बन्धित खवर