विराटनगर । प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला र १४ पुरुष, धरानमा ५ महिला र ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला र २ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २ महिला र ५ पुरुष, लेटाङमा १ महिला र २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ ।
उता सुनसरीको कमल गाउँपालिकामा २ महिला र ७ पुरुष, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष, शिवसताक्षीमा १ महिला, संखुवासभाको पाँचखपनमा १ पुरुष, खाँदबारीमा १ महिला, पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार १०४ पुगेको छ । प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । झापाको दमकका १ पुरुष, मोरङको बेलबारीकी १ महिला र सिरहाको लहानकी १ महिलाको शुक्रबार मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
प्रदेश १ स्थायी ठेगाना भएका २० र अन्य ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा शुक्रबार २० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र विराटनगर अस्पताल आईसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा १ हजार ५१६ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा शुक्रबार १ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म प्रदेशमा ८५ हजार २ सय २ जनाको पीसीआर परीक्षण भएको छ ।