काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)का एक जना कार्यालय सहयोगीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।
सीसीएमसीका कार्यालय सहयोगीमा कोरोना देखिएपछि सीसीएमसी संयोजक ईश्वर पोखरेल र सदस्य रामबहादुर थापा बादल होम आइसोलेसनमा बसेको बताइएको छ ।
सचिवालय सदस्यसमेत रहेका दुई मन्त्री आइसोलेसनमा बस्नुपर्ने भएकाले शनिबारको लागि तय भएको बैठक स्थगित गरिएको हो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच शुक्रबार बालुवाटारमा भएको छलफलपछि शनिबार बस्ने भनिएको बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो ।
बैठक १८ गते बस्नेगरी स्थगित भएको नेकपा अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । बैठकमा पार्टी विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।