कमिसनको लोभमा जबरजस्ती भिडाइन्छ, ‘एसएसपी’ मल

विराटनगर । कम्पनीले दिने कमिसनको चक्करमा साल्ट ट्रेडिङ कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरले युरियाम मल किन्दा सहकारीहरूलाई जबर्जस्ती सिंगल सुपर फास्फेट (एसएसपी) मल किन्न बाध्य बनाउने गरेको पाइएको छ ।

अनुदानको मलसँगै गैरअनुदानको डिएपीको रूपमा काम गर्ने एसएसपी मल सहकारीलाई जबरजस्त रुपमा भिडाइदिने गरेका हुन् ।

एसएसपी मल र साबुन खरिद नगरे यूरिया मल नदिने भएकोले बाध्य भएर खरिद गर्नु परेको सहकारीहरूको भनाइ छ । जसले गर्दा अतिरिक्त आर्थिक भार कृषकले झेल्नुपरेको छ । एसएसपी मल नकिन्ने किसानलाई युरिया मल नै सहकारीले नदिने भएकोले उनीहरु काम नभएपनि एसएसपी किन्न बाध्य छन् ।

अहिले साल्ट ट्रेडिङले सीमित मात्रमा सहकारीहरूलाई मल वितरण गर्दै आएको छ । सहकारीहरूलाई १ सय बोरा युरिया खरिदमा अनिवार्य २५ बोरा एसएसपी र ६ कार्टुन साबुनको बिल काट्ने गरेको छ । ‘२५ बोरा एसएसपी र ६ कार्टुन साबुनको बिल नकाटेसम्म साल्ट टे«डिङका कार्यालय प्रमुखले युरिया मलको तोक लगाइदिनुहुन्न’ मोरङको कानेपोखरीबाट मल खरिद गर्न साल्ट ट्रेडिङमा आएका एक सहकारीका सञ्चालकले भने, ‘प्रत्येक सहकारीलाई १ सय बोरा यूरिया खरिदमा २५ बोरो एसएसपी मल र ६ कार्टुन साबुन अनिवार्य तोकिएको छ ।’

एसएसपी मल खरिद नगर्नेलाई युरिया नदिने गरेकोले किसानलाई पनि त्यसै अनुसार बेच्न बाध्य भएको सहकारीको भनाइ छ । ‘अहिले माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले गर्दा पनि हात धुन साबुन कृषकले खरिद गरेर लैजान्छन्, ‘ती सहकारीका संचालकले भने, ‘यो बेसिजनको एसएसपी मल कृषकलाई आवश्यक नभएपनि जबरजस्ती खरिद गराउनुपर्ने बाध्यता छ ।’

साल्ट्र ट्रेडिङमा तीनथरी मूल्य पर्ने एसएसपी मल छ । प्रतिबोरा ९ सय ६०, १ हजार २० र १ हजार ४० रुपैयाँको एसएसपी मल रहेको छ । गतवर्षकै साल्ट टे«डिङमा ११ हजार ९ सय बोरा अर्थात ५ सय ९५ मेट्रिक्टन एसएसपी मल स्टक रहेको छ । गैरअनुदानको एसएसपी मल कोटा अनुसार बिक्री गर्दा कम्पनीले निश्चित कमिसन दिने भएकोले सहकारीलाई जवरजस्ती भिडाउने गरेको स्रोतको दाबी छ ।

साल्ट ट्रेडिङले एसएसपी मल नलैजाने सहकारीहरुलाई अनुदानको मल युरिया र डिएपी पनि नदिने भनेपछि कतिपय सहकारीले साल्ट ट्रेडिङमार्फत मल खरीद गर्नै छाडेका छन् । यसरी दबाव दिने भएकोले केहिले मलको कारोबार नै छाडेका हुन् । ‘मलको गुणस्तरका विषयमा समस्या नहोला, तर किसानले एसएसपी मल लिनै मान्दैनन् । अनि हामीले त्यो मल कसरी बिक्री गर्नु ?’ ती सहकारीका संचालकले भने ।

कृषकलाई अहिले हरियो फिर्दै गरेको धानबालीमा एकदमै आवश्यक परेको युरिया हो । तर, साल्ट टे«डिङले सहकारीमार्फत किसान दिने युरिया मलसँगै एसएसपी मल भिडाउने गरेको छ । कृषि विज्ञहरुका अनुसार एसएसपी मल डीएपीको बिकल्पको रूपमा प्रयोग गरिन्छ । यद्यपी किसानहरु भने एसएसपी गुणस्तरमा पनि विश्वस्त हुन सकेका छैनन् ।

साल्ट ट्रेडिङले सहकारीलाई र सहकारीले किसानलाई एसएसपी मल र साबुन जबर्जस्त रुपमा भिडाइदिदा अतिरिक्त आर्थिक भार कृषकले झेल्नुपरेको छ । मोरङमा सहकारीले कृषकलाई ८ सय रुपैयाँमा युरिया, १ हजार ६० रुपैयाँमा एसएसपी र १ सयमा तीन वटा साबुन बिक्री गर्दै आएको छ । ‘यूरिया मात्र किन्ने पैसा बोकेर गएको थिए, सहकारीमा लिन जाँदा एसएसपी र साबुन पनि किन्नुर्पछ भने’ मोरङको कानेपोखरी ५ का कृषक भेषराज आचार्यले भने, ‘११ किलो युरिया दिएर जबर्जस्ती सेटिङमा आएको अर्को मल एसएसपी र साबुन पनि भिराएको छ ।’ ११ किलो मल लिएवापत १ सय रुपैयाँको ४ किलो एसएसपी मल र अर्को १ सय रुपैयाँको ३ डल्ला साबुन किन्नु परेको किसानहरु बताउँछन् ।

अहिले युरिया मलको चरम अभाव छ । सहकारीबाहेक अन्य स्थानमा मल किन्न पाइँदैन । सहकारीमा एसएसपी किन्न अनिवार्य गरिएको मल खरिद गर्न गएका कानेपोखरी गाउँपालिका ६ रमाइलोकी शोभा बजगाइले बताउनुभयो ।

साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राधेश्याम चौधरीले जबरजस्ती रुपमा सहकारीहरुलाई गैरअनुदानित एसएसपी मल नभिडाइएको दावी गर्नुभयो । जहिले पनि डिएपी मलको अभाव हुने अवस्था देखिएपछि विकल्पमा एसएसपी मल ल्याएर किसानहरुको मागलाई सम्बोधन गरिएको उहाँको जिकिर छ ।

केन्द्रीय कर्यालयको आदेशमा देशभरीका कार्यालयबाट एसएसपी मलको कारोबार गरिरहेको कम्पनीले जनाएको छ । रसायनिक मल लिन आउने सहकारीहरुको इच्चा अनुसार एसएसपी मल पनि लैजाने गरेको चौधरीले दावी गर्नुभयो । एसएसपी किन्न बाध्यकारी नियम नबनाएको उहाँको जिकिर छ ।

डिएपी मल अभाव भएको अवस्थामा यसलाई दोब्बर गरी प्रयोग गरे धान र मकैबाली तथा तरकारी बालीमा पनि उत्तम हुने चौधरीको भनाइ छ । यो मलमा सल्फर, क्याल्सियम, फसफोरस, जिंक र बोरोनको मात्रा मिलाइएको बाली पनि राम्रो हुने र माटो पनि राम्रो हुने कार्यालय प्रमुख चौधरीले बताउनुभयो ।

साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय विराटनगरले मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमा गरि ६ वटा डिपो र २ सय ६४ वटा सहकारीलाई मल वितरण गर्दै आएको छ । ३ सय २९ मेट्रिकटन मल आएकोमा मंगलबारसम्म ३४ सहकारीलाई ५ हजार ४ सय ७५ बोरा अर्थात २ सय ७४ मेट्रिकटन वितरण गरेको कार्यालय प्रमुख चौधरीले जानकारी दिनुभयो ।

बुधबार, १० भदौ, २०७७, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर