उदयपुर । आइतबार र सोमबार उदयपुरका ३१ जना कोराना प्रभावित व्यक्तिको रक्त समूह छुट्याईएको छ ।

कोरोना संक्रमितको उपचारका लागि प्रभावकारी मानिएको प्लाज्मा थेरापी गर्नको लागि रक्त समूह छुट्याइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक टोलीले कोरोना उपचार केन्द्र बेल्टारमा रहेका र पहिलो कोरोना भाइरस इपिसेन्टर बनेको त्रियुगा नगरपालिका ३ भुल्के क्षेत्रका संक्रमणबाट निको भएकाको रगत लिइ रक्त समूह वर्गिकरण सुरु गरेको छ । कोरोना अस्पतालमा उपचार गरिरहेका २३ र निको भएका ८८ गरि जम्मा १ सय ११ जनाको रक्त समूह अद्यावधिक गरिने स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले स्वेच्छिक रुपमा प्लाज्मा दान गर्न सहमत भएका व्यक्तिको विवरण अद्यावधिक गर्न स्वास्थ्य कार्यालयलाई जिम्मेवारी दिए अनुसार कोरोना प्रभावितहरुको विवरण तयार गरिएको हो । संक्रमित र संक्रमणमुक्त व्यक्तिको विवरण अद्यावधिक भएपछि तत्काल प्लाज्मा आवश्यक भएमा जटिल प्रकारका कोरोना संक्रमितको उपचार गर्न सहज हुने विश्वास लिईएको छ ।