पिसिआर परीक्षणमा प्रश्न उठ्यो, छानविन होस् : मो.कासिम मियाँ

विराटनगर । बुढिगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष मो.कासिम मियाँले पिसिआर परीक्षणका क्रममा अनियमितता भएको विषय सार्वजनिक भएको भन्दै छानविन हुनुपर्ने बताउनुभएको छ ।

गाउँपालिकाले उद्योगहरुमा संक्रमण फैलिन नदिन पिसिआर परीक्षणका लागि आग्रह गरेको भएपनि वडा नम्बर ४ का उद्योगसँग वडाध्यक्षको तर्फबाट आफुले रकम नमागेको उहाँले स्पष्ट पार्नुभएको छ । पिसिआर परीक्षण स्वास्थ्य शाखा मार्फत सञ्चालन भइरहेको र उद्योगहरुमा कसरी परीक्षण भइरहेको छ भन्ने विषय पनि सोही शाखाकै जानकारीमा रहने उहाँको भनाई छ । ‘म दुई वर्षको अवधिमा कुनै पनि उद्योगमा गएको छैन र पिसिआर परीक्षणको नाममा कुनै उद्योगसँग ५ हजार ५०० को दरले मैले पैसा पनि मागेको छैन,’ वडाध्यक्ष मियाँले भन्नुभयो ‘ उद्योगहरुसँग पैसा लिएर पिसिआर परीक्षण गरेको भन्ने विषय सार्वजनिक भएकोले म आफैं पनि बुझ्ने र तथ्य खोज्ने काम गरिरहेको छु ।’ उहाँले यस विषयमा छानविन गरेर यथार्थ कुरा बाहिर ल्याउनु राम्रो हुने पनि बताउनुभएको छ ।

वडा नम्बर ४ अन्तरगत प्रिमियर वायर्स, स्वस्तिक जुलमिल लगायतका उद्योगहरु छन् । गाउँपालिकाले उद्योगहरुलाई पत्रपठाएरै अनिवार्य मजदुरहरुको पिसिआर परीक्षण गर्न आग्रह गरेको थियो । आरती स्ट्रिप्स् लगायत केही उद्योगले प्रतिव्यक्ति ५ हजार ५ सयका दरले पैसा तिरेर मजदुर तथा कर्मचारीहरुको पिसिआर परीक्षण गराएका थिए । वडा नम्बर ४ अन्तरगतको स्वस्तिक जुटमिलले आफ्ना २५ जना मजदुरको पिसिआर परीक्षण भएपनि बिल प्राप्त नभएकोले भुक्तानी नगरेको र वडा नम्बर ४ को वडाध्यक्षले यस विषयमा उद्योगसँग सम्पर्क नगरेको जनाएको छ ।

१५ जना कामदारको पिसिआर परीक्षण गर्दा ७० हजार रुपैया तिर्नुपर्ने तर बिल नदिने गाउँपालिकाको जवाफ पछि प्रिमियर वायरले पैसा तिरेर परीक्षण गर्न नसक्ने भनि लिखित जानकारी पठाएको थियो ।

सोमबार, ०८ भदौ, २०७७, दिउँसोको ०१:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर