लोड हुँदैछ...

मेनु

श्रीमतिमाथि खुकुरी प्रहारपछि आत्महत्या

श्रीमतिमाथि खुकुरी प्रहारपछि आत्महत्या

बिर्तामोड । आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी मरणासन्न बनाएर फरार भएका झापाको अर्जुनधारा–२ खुदुनाबारीका राजेन्द्र अधिकारी मृत भेटिएका छन् ।

अधिकारीको शव नजिकैको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भदौ १ गते घरायसी विवादमा अधिकारीले श्रीमती लक्ष्मी अधिकारीमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । श्रीमतीलाई घाइते बनाएर नजिकको जंगलतिर पसेका अधिकारीलाई प्रहरी र स्थानीयले खोज्दा फेला पार्न सकेका थिएनन् ।

डोरी र घटनामा प्रयोग गरिएको खुकुरी लिएर अधिकारी जंगल पसेको र घटनास्थलबाट एक किलोमिटरको दूरीमा रहेको जंगलभित्र सखुवाको रुखको हाँगामा पासो लगाएर झुन्डिएको गरेको अवस्थामा शव पाइएको शनिश्चरे प्रहरी चौकीका इन्चार्ज सुर्यबहादुर बस्नेतले जानकारी दिनुभयो । शव नजिकै घटनामा प्रयोग गरिएको खुकुरीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

अधिकारीको शव कुहिएको अवस्थामा फेला परेकाले श्रीमतीलाई हतियार प्रहार गरेको घटना भएकै दिन आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ । जंगलमा शव कुहिएर दुर्गन्ध फैलिएपछि स्थानीयले खोजतलास गर्दा अधिकारीको शव फेला परेको थियो ।

अधिकारीले श्रीमतीको हात, छाती, गर्धनमा अन्धाधुन्ध खुकुरी प्रहार गरेर जंगलतर्फ भागेका थिए । घरनजिकै रहेको बारीमा घाँस काटिरहेको अवस्थामा अधिकारीले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । श्रीमतीको बिएन्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।