स्वास्थ्यकर्मी र संक्रमित माथिको दुर्व्यवहार निन्दनीय

पशुवत व्यवहार सुधारौं, स्वास्थ्यकर्मीलाई सम्मान गरौं

विराटनगर । के कोरोना संक्रमण केही व्यक्तिहरुमा मात्रै हुन्छ ? होइन, हुँदैन जसलाई पनि लाग्न सक्छ । कोरोना लाग्ने मानिसहरुको लिष्ट कसैसँग छ ? छैन । स्वास्थ्यकर्मी तथा कोरोना संक्रमितलाई गाउँ, टोल, समुदाय वा घरमा बस्नै नदिनेलाई कोरोना संक्रमण कहिल्यै हुँदैन ? हुनसक्छ । अनि संक्रमितलाई दुव्र्यवहार गर्ने वा संक्रमितको उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरे कोरोना भाग्छ ? अवश्य भाग्दैन । तर, पनि किन मानिसहरु स्वास्थ्यकर्मी र निको भएर घर फर्किएका कोरोना संक्रमितलाई छोइछिटो गर्छन् ? उल्लेखित प्रश्नहरु आजको युग सुहाउँदो होइन ।

कोरोना निश्चित व्यक्ति केन्द्रीत छैन । कोरोना लाग्ने मानिसहरुको लिष्ट बोकेर कोही बसेको पनि छैन र स्वास्थ्यकर्मी वा संक्रमित व्यक्तिप्रति हेयको दृष्टिकोण राख्नेहरुलाई पनि कोरोना लाग्न सक्छ । कोरोना संक्रमित तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुव्र्यहावहार गर्ने मानिसहरु मुर्ख र जंगली सोचका हुन् । यिनलाई कानून हुन्थ्यो भने फासि दिँदा पनि कम सजाय हुन्छ ।

‘ति डाक्टर, नर्सहरुले तपाई हाम्रै छरछिमेक, आफन्त, साथीभाईहरुको जीवन जोगाउन आफूलाई संक्रमणको जोखिममा पारिरहेका छन् । आफ्ना आफन्तलाई हप्तौंसम्म नभेटि क्वारेन्टिनमा बसेर भाईरससँगको लडाईमा हामीलाई बिजयी बनाउने प्रयासमा लागिरहेका छन् अनि तिमिहरु चैं यो उपहार दिदैछौं होईन ?’, स्वास्थ्यकर्मीलाई घर तथा टोलबाट हटाउन काठमाडौंमा गरिएको आन्दोलन र दुव्र्यवहारलाई इंगित गर्दै विराटनगरका युवा सरोज कार्कीले सामाजिक संजालमा लेखेका छन्, ‘यो भीडमा यसरी नांगो नाच देखाउँदा कोरोना सर्यो भने पुग्न त त्यहिँ पर्छ । अनि बुझ्नेछौं स्वास्थ्यकर्मीको महत्व । बरु बुद्धि पलाउन ढिलो नहोस् । हरि बिजोग रहेछ तिमरुमा जनचेतनाको स्तर ।’

कार्कीले मात्रै होइन समाजका अगुवा तथा सचेत मानिसहरुले यसखालका घटनाको विरोध गरिरहेका छन्, गर्नुपर्छ । जसले आफू कानूनभन्दा माथि, रोगभन्दा माथि अर्कै प्राणी सम्झन्छ । त्यस्तालाई राज्यले हर्दैसम्मको कानूनी कारबाही गर्नुपर्छ, भन्ने आवाज अहिलेको सामाजिक संजालमा प्रसस्तै देख्न सकिन्छ ।

हालसम्म यसखालका अमानविय घटनाहरुमध्ये संखुवासभामा क्याम्पस प्रमुखको नेतृत्वमा आइसोलेसन वार्ड तोडफोड, विराटनगरमा आइसोलेसन कक्षमा डाक्टरमाथि हातपात, वीरगन्जको छपकैयामा डाक्टरविरुद्ध नाराबाजी, अस्पतालमा तोडफोड, चितवनको भरतपुरमा डाक्टरलाई अपहेलित गर्दै घरमा स्टिकर टाँस्ने प्रयास, चितवनको रत्ननगरमा स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीलाई घरमा बस्न दिइएन, जाजरकोटमा स्वास्थ्य केन्द्रका डाक्टरमाथि आक्रमण र नागढुंगामामा डाक्टरको हुर्मत लिइएको घटना प्रमुख छन् । (नयाँपत्रिका) त्यसबाहेकका साना तिना घटनाहरु त प्रायः कोरोना संक्रमितले भोगिरहेका छन् ।

‘समाजले कोरोना संक्रमितलाई सही तरिकाले हेर्न सकेको छैन । संक्रमण मुक्त भएपनि हेयको दृष्टिले हेरेका छन्,’ कोरोना संक्रमित विराटनगरका पत्रकार कमल रिमालले भन्नुभयो, ‘सरकारले संक्रमितको व्यवस्थापन र उपचारमै ध्यान दिइरहेको छ । यस्तो अवस्थामा सामाजिक क्षेत्रमा क्रियाशिल मानिसहरु कोरोना पोजेटिभ देखिएका र समाजमा पुनःस्थतापित हुन खोज्नेहरुलाई सहज ढंगले पुनःस्थापनामा सहयोग पु¥याउने कार्यक्रम लिएर अगाडि आउन आवश्यक छ ।’

मानव अधिकारकर्मीहरु पनि अगाडि आउनु पर्नेमा उहाँको जोड छ । ‘आम संक्रमितहरु समाजमा पुनःस्थापित हुन चाहन्छन् । उनीहरुको सहज वातावरण निर्माणमा सामाजिक संघसंस्थाहरु नै लाग्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘आज आइसोलेसनबाट कोरोना मुक्त भएर आउनु भयो । उहाँलाई स्वागत सम्मान गर्दछौं भनेर सामाजिक संजालमा हालेको पनि देखियो । यसखालका कामहरु निजी क्षेत्रबाट गर्नुप¥यो ।’

कोरोना संक्रमित विराटनगरका अग्रज पत्रकार मोहन भण्डारीको अनुभव पनि उस्तै छ । आफूसँग भेटघाटमा आउने मानिसहरुले ‘भरसक छेउ प¥यो भने सरिहाल्छ कि’ भन्ने मनोविज्ञान पालेर आफन्तहरु आउँछन् । तरकारी बेच्ने ठेलावालाले कोरोना भएको थाहा पाएपछि भागेको र अहिलेसम्म नल्याएको अनुभव सुनाउँदै उहाँले विश्व स्वास्थ्य संगठनले भनेका कतिपय कुराहरुलाई ध्यान दिएर समाजमा कोरोनाको भय न्यूनीकरण गर्नुपर्ने बताउनु भयो ।

‘मनोवैज्ञानिक त्रास मानिसहरुले पाल्नु हुँदैन । जो सुरक्षित छु र भागेर बाँच्छु भन्छ भने त्यो सम्भव छैन । कोरोनाबाट भय मात्रै सिर्जना भयो । तर, सचेतना कम भयो । कोरोना संक्रमितले खतरनाक रोग बोकेर बसेको छ, उसले छोयो भने पनि हामी सकिन्छौं भन्ने जस्तो भ्रम बढी भयो,’ भण्डारीले भन्नुभयो, ‘यसखालको भयपूर्ण कुरालाई सचेत नागरिकहरुले चिर्नु आवश्यक छ । कोरोनाबाट डराएर भाग्ने होइन, यसबाट जोगिने कुराबाट सचेत हुनुपर्दछ, समाजमा एउटा मानिसमा भयो भने बाफरे बाफ भन्ने अवस्थाको अन्त्य हुनु आवश्यक छ ।’

देशका कतिपय स्थानमा कोरोना संक्रमितलाई समस्या भइरहँदा कतिपय स्थानमा भने समुदायले नै सहज वातावरण बनाउन भूमिका खेलिरहेका छन् । विराटनगर ३ का एक संक्रमितलाई त्यहाँको टोलले नै सहयोग गर्यो । ‘कोरोना संक्रमण भएको थाहा भएको भोलीपल्टै गाउँलेहरु आएर ठिक छ सबैलाई भएको छ, आत्तिनु पर्दैन, परीक्षण गर्दा हामीलाई पनि हुन सक्छ । यो सानोतिनो रोग हो, केही सहयोग चाहियो भने भन्नु भनेर आत्मबल दह्रो बनाउनु मद्दत गरे,’ उनले भने, ‘१४ दिनको बसाइको क्रममा आफूलाई अप्रत्यक्ष रुपमा कसैले कुरा काटेभने अर्कै कुरा हो । तर, हाम्रो परिवारप्रति प्रत्यक्ष रुपमा अपमानित गर्ने खालको काम हाम्रो समुदायबाट भएन ।’

कोरोनालाई जितेर होम क्वारेन्टाइनमा बसिरहेका विराटनगरका पत्रकार बाबुराम भण्डारीले पनि आफूलाई समुदायले सहयोग गरेको बताउनु भयो । ‘मेरो विषयमा व्यक्तिगत ढंगले कसैले केही पनि नकारात्मक टिप्पणी गरेनन् । स्वाब दिइसकेपछि आफू सचेत भएर नै बसें,’ उहाँले भन्नुभयो, ‘रिपोर्ट पोजेटिभ आएको थाहा पाएपछि टोल विकास संस्थाका अध्यक्ष ध्रुब घिमिरेको अगुवाइमा समुदायलाई सचेत गराइयो, विभेद गर्ने होइन यो समुदायले नै मिलेर परास्त गर्नुपर्ने रोग हो भन्ने विषयमा सबैलाई बुझाइयो ।’

उहाँले देशमा भएका कतिपय विभेदका कुराले हाम्रो समाज अझैसम्म यति क्रुर रहेछ जस्तो लागेको बताउनु भयो । ‘कोरोना संक्रमण भएकै आधारमा वा उपचार गरेकै आधारमा स्वास्थ्यकर्मी माथि विभेद गर्नै नहुने कुरा हो, हामी आइसोलेसनमा बस्नेहरुको परिवारलाई घरबेटीले घर बस्नै नदिएका घटनाहरु पनि आएका थिए, यो समस्या जटिल हो ।’

यसखालका घटनालाई निरुत्साहित गर्न कोरोना पोजेटिभ भएकाहरु नै अगाडि आउनुपर्ने भण्डारीको भनाइ छ । ‘कोरोना संक्रमितहरु नै आफू संक्रमित हुँ भन्ने हिसावले भित्रै कोठामा बसेर कमजोर हुने भन्दा समाजमा अगाडि आएर कोरोना भनेको केही होइन, यसबाट बच्नका लागि यसो गर्नुपर्छ, भनेर समुदायलाई बाटो देखाउनु आवश्यक छ,’ उहाँले भन्नुभयो ।

विराटनगरकै कोरोना संक्रमित पत्रकार संजीव खनालले भने कुनै अप्ठ्यारो अवस्थाको सामना गर्नुपरेन । ‘अहिले होम क्वारेन्टाइनमा भएको बेला पनि साथीभाइले मर्निङ वाक जाउँ भन्दै गेटमा लिन आउँछन्, तर म आफैं गएको छैन,’ खनालले भन्नुभयो, ‘संक्रमित भएको अवस्थामा पनि साथीभाई सबैले माछा मासु, फलफूल तथा खानपिनमा सहयोग गरे ।’

संक्रमित र स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेहरु विरुद्ध समाजका अगुवाहरु नै उदाहरणीय बनेर देखाउनु पर्ने खनालको भनाइ छ । ‘अरुलाई पर्दा छोइछिटो गर्ने तर, भोली आफूलाई पर्दा ति मानिसले के भन्छन् भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ,’ खनालले भन्नुभयो, ‘कोरोना संक्रमितहरुलाई हेला होचो गर्नेलाई सामाजिक बहिष्कार गरौं, स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई सामाजिक संघ संगठनले खबरदारी गरौं ।’

त्यसैले संक्रमित हुनु स्वयं बिरामीको दोष होइन । संक्रमितको उपचारमा संलग्न हुनु भनेको समाजसेवा हो, उनीहरुले आफूहरुलाई पर्दा पनि उपचार गर्छन् भन्ने कुरा नबिर्सऔंं । कोरोना लाग्नु भनेको कुनै पूर्व जन्मको पाप वा उसको गल्ती कमजोरी होइन । जङ्गली सोच र व्यवहारलाई जरैदेखि उखेलौं, उनीहरुलाई निरुत्साहित गरौं ।

आइतबार, ०७ भदौ, २०७७, दिउँसोको ०३:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर