संखुवासभा । संखुवासभाको खाँदवारीमा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन तोडफोड गरी स्वास्थ्य सामाग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् ।

खाँदवारीस्थित हिमालय किरण क्याम्पसमा राखिएको आइसोलेसनका सामाग्री तोडफोडको अगुवाई गरेको भन्दै सोही क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले प्रमुख तिम्सिनामाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । हराएको सामाग्री भने फेला परेको छैन ।

बिहीबार राति आइसोलेसन तोडफोड भएको थियो । करिब १५ लाख बराबरको सामाग्री चोरी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले जानकारी दिनुभयो । त्यहाँ रहेको ७० पिपिई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडर लगायतका सामाग्री हराएको अस्पतालको भनाइ छ ।