दमक । कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले लकडाउन गरेको लकडाउनबीच शनिबार झापाको दमकमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्वारेन्टाइनमा रहेका व्यक्तिमा मात्र नभई समुदाय स्तरमा संक्रमणको दर बढेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएकामध्ये एक जना औषधि व्यवासायी हुन् । औषधि व्यवसायीले दैनिक सयौं व्यक्तिसँग सम्पर्क गर्ने भएकाले कन्ट्याक ट्रेसिङ्मा चुनौती थपिएको छ । थपिएका संक्रमितमध्ये ८ जना क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् भने बाँकी कन्ट्याक टे«सिङबाट नमूना संकलन गरिएका व्यक्ति हुन्।

विद्युत प्राधिकरण दमक वितरण केन्द्रका ६ जनामा एकैसाथ संक्रमण देखिएपछि दमकमा समुदाय स्तरमा संक्रमणको रफ्दार बढेको हो। संक्रमित भेटिने क्रम बढेपछि गत शनिबारदेखि दमकमा लकडाउन गरिएको छ।

दमकमा अहिलेसम ६६ जनामा कोरोनाको संक्रमण देखिएको छ। तीमध्ये १९ जना उपचारपछि घर फर्किएका छन् । थप २०० जनाको स्वाव संकलन गरिएको छ। त्यसको परीक्षणका लागि प्रयोगशाला पठाउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

यसैबीच दमक उद्योग वाणिज्य संघले संक्रमण दर उच्च भएकाले बजार पसल सञ्चालन नगर्न व्यवसायीलाई आग्रह गरेको छ। अहिले संक्रमणको दर बढेको र समुदायका व्यक्तिहरु समेत संक्रमित हुने क्रम बढेकाले बजार पसल सञ्चालनमा हतार नगर्न आग्रह गरेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताउनुभयो ।