विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोस्रो पटक कोरोना संक्रमित बिरामीलाई प्लाज्मा थेरापी गरिएको छ।
कोरोना लागेर निको भएका प्रदेश प्रहरी कार्यालय विराटनगरका एक प्रहरी हबल्दारले रक्तदान गरेपछि संक्रमित धरान १५ का ६९ वर्षीय बृद्धलाई शुक्रबार राति प्लाज्मा थेरापी गरिएको हो।
बृद्धको स्वास्थ्य गम्भीर भएपछि कोभिड अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । कोभिड १९ निको भइसकेका एक प्रहरी हवल्दारले रक्तदान गरेपछि उनलाई प्लाज्मा थेपारी विधिबाट उपचार गरिएको हो । अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिष्ठानले जनाएको छ ।
प्लाज्मा दान गर्ने प्रहरी हवल्दार उदयपुरको गाइघाट निवासी हुन् । उनी प्रहरीमा गाडी चालक छन् । उनको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि गोठगाउँस्थित कोभिड अस्पतालमा आइसोलेसनमा बसेका थिए । साउन ११ गतेदेखि आइसोलेसनमा बसेका उनको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि २१ गते डिस्चार्ज भएका थिए ।
प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा. संजिवकुमार शर्माका अनुसार यसअघि प्याज्मा थेरापी गरिएका धरान ८ का ६७ वर्षीय अर्का बृद्धको स्वास्थ्यमा क्रमिक सुधार आइइरहेको छ । प्लाज्मा थेरीपी गर्न कोरोना संक्रमित भएर निको भएका व्यक्तिहरुले रगत दान गर्नुपर्छ ।
कोरोना निको भएका व्यक्तिको शरिरमा भाइरससँग लड्न एन्टिबडी उत्पादन भएको हुनाले प्लाज्मा छुट्याएर संक्रमित बिरामीलाई दिएपछि कोरोना परास्त गर्न मद्दत पुग्ने डा. शर्माले जानकारी दिनुभयो । रेडक्रस सुनसरीले पहलमा कोरोना संक्रमण भएर निको भएका व्यक्तिको रगत संकलन गरी प्रतिष्ठानमा उपचाररत संक्रमित बिरामीहरुलाई दिइएको हो ।
संक्रमण निको भएको मानिसको शरीरबाट २ देखि ४ हप्ताबीचमा रगत लिएर प्लाज्मा निकाल्न सकिने विज्ञहरुले बताएका छन् । संक्रमण निको भएका व्यक्तिले रक्तदान गरेपछि उनको रगतबाट प्लाज्मा छुट्याएर निकालिन्छ, र संक्रमित व्यक्तिलाई दिइन्छ । त्यही प्लाज्मामा एन्टिबडी हुन्छ, जसले भाइरसलाई मार्ने काम गर्छ ।
यसैबीच रेडक्रसले प्रदेश १ का कोरोना भाइरसको संक्रमणबाट निको भएका व्यक्तिहरुको पहिचान गरी रक्तदान गर्न लगाई प्लाज्मा बैंक स्थापनाको पहल गरिरहेको जनाएको छ ।