विराटनगर । कोरोना संक्रमणबाट नेपालमा गएको २४ घन्टामा थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको नियमित पत्रकार सम्मेलनमा थप १ जना महिला र १० जना पुरुषको मृत्यु भएको पुष्टि गरेको हो ।
कोरोनाबाट पछिल्लो पटक मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर र प्युठानका १ –१ जना पुरुषको मृत्यु भएको छ । दोलखाकी एक महिलाको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।
यस्तै शुक्रबार थप ८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।
विगत २४ घण्टामा २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ।
शुक्रबार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

