विराटनगरको कोभिड १९ अस्पताललाई लेभल २ मा स्तरोन्नति गर्ने निर्णय

आवश्यक जनशक्ति नियुक्त गर्न र आइसोलेसन थप गर्न अनुमति

विराटनगर । प्रदेश सरकारले विराटनगर स्थित कोशी कोभिड १९ अस्पताललाई लेभल टु मा स्तरोन्नती गर्न आवश्यक जनशक्ति नियुक्त गर्ने प्रकृया अघि बढाउने निर्णय गरेको छ ।

प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विज्ञसँग छलफल र परामर्श गरी कोभिड अस्पताललाई लेभल टु मा स्तरोन्नती गर्न आवश्यक दरबन्दी सिर्जना गरी नियुक्ति प्रकृया अघि बढाउन सामाजिक विकास मन्त्रालयलाई अनुमति दिएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।

कोभिड १९ अस्पताल विराटनगरमा आवश्यक जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटर सञ्चालनमा समस्या हुँदै आएको छ ।

यसै गरी आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको प्रदेशस्तरीय प्रयोगशाला स्थापना गर्न स्नातकोत्तर क्याम्पस विराटनगरको जग्गा प्रदेश प्रयोगशालाको नाममा पाप्त गर्नका लागि स्वीकृति दिएको छ । स्वीस सरकारले प्रदेश सरकारलाई अस्तान्तरण गरेको आधुनिक पिसिआर मेसिन सञ्चालन गर्न व्यवस्थित प्रयोगशालाको अभाव थियो । त्रिभूवन विश्वविद्यालय, सामाजिक विकास मन्त्रालय र स्नातकोत्तर क्याम्पसबीय यस अघि भएको सम्झौता बमोजिम उक्त निर्णय भएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

बैठकले सामाजिक विकास मन्त्रालयको विविध कार्यक्रम सञ्चालन कार्यविधि २०७७ लाई स्वीकृत गरेको छ भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रस्ताव अनुसार पर्यटन विकास तथा जलाधार संरक्षण आयोजनाको १ वर्ष म्याद थप गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो ।

बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको विषयमा केही अनौपचारिक छलफल पनि भएको थियो । केही समयअघि सम्म नियन्त्रित अवस्थामा रहेको कोरोना संक्रमणको अवस्था बिग्रनुका पछाडि सरकारका तर्फबाट भएका कमीहरुको विषयमा छलफल भएको मन्त्री कार्कीले जानकारी दिनुभयो । ‘बैठकमा कुन ठाउँमा कस्ता त्रुटिहरु भए भनेर समिक्षा गर्ने काम भएको छ,’ सरकारका प्रवक्ता कार्कीले भन्नुभयो ‘आइसोलेसन वार्ड र आइसियुहरुलाई व्यवस्थित गर्दै सञ्चालन गर्ने, आवश्यकता अनुसार त्यसको संख्या थप गर्ने विषयमा छलफल भएको छ र यस विषयमा सामाजिक विकास मन्त्रालयले थप तयारी अघि बढाउने कुरा भएको छ ।’

शुक्रबार, ०५ भदौ, २०७७, दिउँसोको ०३:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर