विराटनगर । विराटगनर महानगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा गर्नुपर्ने राय सहित प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।
तीनसाता लामो लकडाउनले पनि विराटनगरमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी नतिजा नआएपछि महानगरपालिकाले निषेधाज्ञा गर्न आग्रह गरेको हो ।
महानगरको प्रस्ताव लगायत जिल्लामा कोरोनाको अवस्था तथा रोकथामको उपायका सन्दर्भमा छलफल गर्न शुक्रबार दिउँसो १ बजे बैठक बस्न लागेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिनुभएको छ । उहाँले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताउनुभएको छ ।
यस अघि साउन २९ गते सामाजिक विकास मन्त्रालयमा बसेको प्रदेश स्तरीय सिसिएमसीको बेठकमा महानगरपालिकाले कफर््यु लगाएर नियन्त्रणको प्रयास गर्नुपर्ने प्रस्ताव गरेको थियो । महानगरको उक्त प्रस्तावमा सामाजिक विकास मन्त्रालय नै असहमत भएपछि महानगरले लकडाउनलाई भदौ ५ गतेसम्म बढाउने निर्णय गरेको थियो । भदौ ५ गतेको सीमा आज समाप्त हुँदैछ । यस अवभिमा संक्रमण झन् बढिरहेको हुँदा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आज जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल हुने बताइएको छ ।
स्थानीय तहहरुलाई लकडाउन गर्नसक्ने अधिकार भएपनि निषेधाज्ञा लगाउने अधिकार भने प्रमुख जिल्ला अधिकारीलाई मात्र छ ।