धरान । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्वरो आएको र सास फेर्न गाह्रो भएका राजविराज ४ का २८ वर्षीय युवकलाई राजविराजस्थित छिन्नमस्ता अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मंगलबार दिउँसो उनको प्रतिष्ठानमा मृत्यु भएपछि प्रतियष्ठानले आफन्तलाई शव जिम्मा लगाएको थियो । युवकको शव राजविराज लगेपछि कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएकोमा बुधबार राति कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

मृतकको अन्त्येष्टि भने स्वाब सङ्कलन गरेपछि मङ्गलवार परिवारले नै गरिसकको छन् । राजविराजमा लिइएको मृतकको पहिलो पिसिआर रिपोर्ट पोजेटिभ नआएकोले आर्मीले दाहसंस्कार नगरेको बताइएको छ ।

सप्तरीमा यी युवकसँगै कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि राजविराज नगरपालिका वडा नम्बर ६ का दुई जना र रुपनी गाउँपालिका ५ का एक जना पुरुषको मृत्यु भएको थियो ।