विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना संक्रमित विरामीको मृत्यु भएको छ ।
कोरोना संक्रमित धरान १५ निवासी ७१ वर्षीय महिलाको बुधबार हिान ११ः१५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।
धरानस्थित एन्फा क्वारेन्टाइनबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा ती महिलामा साउन २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई प्रतिष्ठानमा साउन २४ गते भर्ना गरिएको थियो । संक्रमित महिलामा दम र मुटुरोगको पनि समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।
बृद्धाको उपचारको क्रममा मृत्यु भएको र उनको शव व्यवस्थापनको प्रक्रिया अगाडि बढेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा मंगलबार साँझ पनि मोरङको बुढिगंगा निवासी एक महिलाको मृत्यु भएको थियो ।
योसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा कोरोना संक्रमित ९ जनाको मृत्यु भएको छ । प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउको संख्या १७ पुगेको छ । जसमधे १२ जना मोरङका, ४ जना २ नम्बर प्रदेशका र एक जना धरानका हुन् ।