काठमाडौं । राष्ट्रिय झन्डा जलाएको गीतसहितको भिडियो सार्वजनिक प्रकरणमा संलग्‍न गायक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरो सीआईबीको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।

राष्ट्रिय झन्‍डा जलाएको गीतसहितको भिडियो मंगोल ग्याल्ज ली एन्ड एटीएमको शब्द तथा स्वर रहेको र्‍याप मंगोल होप अफिसियल नामक च्यानलमार्फत सार्वजनिक गरिएको थियो । गायकसँगै अन्य ६ जना पनि पक्राउ परेका छन् ।

गीत बाहुन–क्षेत्री समुदायलाई गाली गरिएको र्‍यापको भिडियोमा राष्ट्रिय झन्‍डा जलाइएको छ । गीतमा आपत्तिजनक शब्दहरु प्रयोग गरिएको छ भने भिडियोमा प्रधानमन्त्रीसहित नेताहरुको तस्बिर जलाइएको छ ।

र्‍यापको शीर्षक ‘देशद्रोही’ राखिएको छ । गीत युट्युबमा सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताले कारबाहीका लागि प्रहरीको ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रिय गान, झन्‍डा वा निशान छापको अपमान वा क्षति गरेमा वा नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झन्‍डा जलाउन, जानीजानी अपमान गरेमा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।