हत्यापछि बोरामा शव हालेर खोलामा फाल्नेहरु पक्राउ

इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ का २२ बर्षीय गुणराज यादवको हत्या गरी बोरामा हालेर शव फाल्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

हत्यामा संलग्न ५ जनालाई नै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक समेत गरेको छ । पक्राउ पर्नेमा दिनेश महतो, पप्पु राम, शिवकुमार मेहता, दिपक कुमार यादव र प्रदिप राम रहेका छन् ।

सुनसरी खोलामा प्लाष्टिकको बोराभित्र भेटिएको शवको हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ३१ गते बोराभित्र ५० केजीको ढुंगासहित बोराको मुख बाँधेर फालेको अवस्थामा मृतकको शव भेटिएको थियो ।

प्रहरीका अनुसार साउन २९ गते घरबाट निस्किएका गुणराजले साथी शिवकुमार महतोसँग इनरुवा पुगेर रक्सी सेवन गरेका थिए । त्यसपछि शिवकुमारले मृतक गुणराजलाई इन्द्रजित यादवको घरमा पुर्याएका थिए । गुणराज इन्द्रजितको घरमा केहीबेर बसेर आफ्नो घर जान भनेर हिँडेकोमा उनी बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार स्थानीयले धनबारीमा रगत जस्तो पदार्थ देखेर प्रहरीमा खबर गरेका थिए । त्यसबारेमा प्रहरीले अनुसन्धान थालेको थियो । इन्द्रजित यादवको घरदेखि ३ सय मिटर पर घन्सीबारीमा लुकी बसेका पप्पु राम, दिपक यादव, प्रदिप राम शिवकुमार मेहता र निदेन मेहतालेसमेत संवेदनशिल अंगमा पालैपालो लात्ताले बारम्बार प्रहार गर्दै कुटपिट गरेर उनको हत्या गरेको खुलेको छ । निदेश मेहताले नजिकै रहेको गोरु गाडामा बाँधिएको नाईलनको डोरी ल्याएर गुणराजको घाँटीमा बाँधेका थिए ।

गुणराजको मृत्यु भएपछि निदेशले आफ्नो घरबाट प्लाष्टिकको बोरा ल्याएर मृतकलाई बोराभित्र हालेर सबैले पालैपालो काँधमा बोकेर खोला किनारसम्म पुर्याएका थिए । उनीरुले खोला छेउ कल्भटमा प्रयोग भएको चेप्टो ठुलो ढुंगा बोराभित्र हालेर नाईलनको डोरीले बोराको मुख सिलाएर खोलामा फालेका थिए ।

गुणराजको हत्या गर्नेहरु उनीसँगै हेलमेल भएका सँगै मदिरा पिउनेहरु हुन् । गुणराजले धेरैसँग प्रेम सम्बन्ध राखेको आरोपमा हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । ती युवतीमध्ये हत्या आरोपीका कोही छोरी, कोही प्रेमिका, कोही बहिनी हुन् ।

गुणराजको संवेदनशील अङ्गमा पालैपालो कुटपिट गरेर बाँसले टाउकोमा प्रहार गरि हत्या गरेको खुलेको प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो । त्यसपछि उनीहरुले शव खोलामा नउत्रियोस् भनेर बोरोमा ५० केजीको ढुङ्गा राखेर बगाएका थिए ।

पक्राउ परेकाहरु विरुद्ध जिल्ला अदालतबाट ३ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको सुनसरी प्रहरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

बुधबार, ०३ भदौ, २०७७, बिहानको ११:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर