विराटनगर । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै विराटनगरस्थित नोबेल अस्पतालका एक जना डाक्टरसहित थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका स्वास्थ्य कार्यालय प्रमुख बस्नेत होम आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बस्नेत प्रदेश १ को प्रदेशस्तरीय कोभिड उपचार केन्द्रका व्यवस्थपनमा प्रमुखको भूमिकामा हुनुहुन्थ्यो ।
‘काम गर्ने क्रममा संक्रमण हुन पुग्यो,’ उहाँले भन्नुभयो, ‘परीक्षण गर्दा म लगायत हामी तीन जनामा संक्रमण देखिएको छ । अहिले होम आइसोलेसनमा बसेको छु ।’
कर्मचारीमा संक्रमण देखिएपछि कार्यालयका सबै ४३ जनाको स्वाब संकलन गरिएको थियो । प्रदेश प्रयोगशालाबाट आएको रिपोर्ट अनुसार संक्रमण पुष्टि भएको हो ।
बस्नेतसँगै स्वास्थ्य कार्यालयका अर्का एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि गोठगाउँको आइसोलेसनमा खटिएका सोही कार्यालयका जनस्वास्थ्य निरीक्षकलाई संक्रमण पुष्टि भएको थियो ।
यसैबीच विराटनगरस्थित नोबेल अस्पतालका एक जना डाक्टरसहित थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्ट अनुसार १ चिकित्सक, १ नर्स र दुई जना फार्मेशीका कर्मचारीमा कोरोना संक्रमण देखिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
मंगलबार थपिएका चार जनासँगै नोबेलमा संक्रमितको संख्या १८ जना पुगेको छ । यसअघि चार जना डाक्टर, ६ जना स्टाफ नर्स, २ जना अस्पतालका कर्मचारी र २ फार्मेसीका कर्मचारी रहेका छन् ।
हालसम्म अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी गरी ५ सय ४८ स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । जसमध्ये ३ सय २४ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका प्रबन्धक दाहालले जानकारी दिनुभयो ।