धरान । सुनसरीको धरान उपमहानगरपालिकामा भदौ १० गतेसम्म लकडाउन लम्ब्याइएको छ ।

धरान उपमहानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले मोडालिटीमा थोरै परिवर्तन गरेर धरानमा कायम रहेको लकडाउनलाई भदौ १० गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।

धरानमा दिनानुदिन कोरोना संक्रमित बढिरहेकोले र समुदाय स्तरमै कोरोना सङ्क्रमण फैलिएकोले लकडाउन थप गरिएको हो । अबदेखि लकडाउनको समयमा धरानमा अत्यावश्यक खाद्यान्न, तरकारी र दुग्धजन्य सामाग्रीका लागि बिहान ८ बजेसम्म मात्र खुल्ला हुनेछ ।

नगरपालिकामा दर्ता भएका व्यापारीहरुले कृषि बजारबाट तरकारी खरिद गरेर वडा तथा टोलमा बिक्री गर्न पाउनेछन् । तर, भानुचोकको सब्जी बजार र धरान ३ को पालिका तरकारी बजार भने नखोल्ने निर्णय भएको छ ।

धरान बाहिरबाट सामान ल्याउदा सेनिटाइज गर्ने र विदेशबाट आउनेहरुलाई पिसिआर अनिवार्य गरेको हुनुपर्ने निर्णय भएको उपमहानरपालिकाले जनाएको छ ।