विराटनगर । विराटनगरमा दुई दिनदेखि कोरोना परीक्षणका लागि स्वाब संकलन हुन सकेको छैन । स्वाब संकलनमा खटिएका विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीहरुमा संक्रमणको जोखिम रहने भएकोले उनीहरु क्वारेन्टाइनमा बसेका छन् । सबै स्वास्थ्यकर्मीको स्वाब परीक्षण भइरहेको र त्यसको रिपोर्ट नआइसकेको हुँदा आइतबार र सोमबार स्वाब संकलनको काम हुन सकेन ।
विराटनगर महानगरपालिकाले दैनिक २०० जनाको हाराहारीमा स्वाब संकलन गर्ने काम गर्दै आएको थियो । आइतबार र सोमबार कन्ट्रयाक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको परीक्षण रोकिएको छ । सोमबार रातिसम्म सबै स्वास्थ्यकर्मीको रिपोर्ट आउने सम्भावना रहेको भन्दै महानगरका कन्ट्रयाक्ट ट्रेसिङ सुपरभाइजर हैदर अलीले त्यस पछि आगामी दिनको कार्ययोजना बनाएर काम थाल्ने जानकारी दिनुभएको छ ।
परीक्षणका क्रममा स्वास्थ्यकर्मीहरु सुरक्षित पाइएको खण्डमा मंगलबारबाट स्वाब संकलनको काम अघि बढ्ने सुपरभाइजर अलीले बताउनुभयो । ‘सबै साथीहरु सुरक्षित रहनुभयो भने मंगलबारबाट हामी काम थाल्छौं,’ अलीले भन्नुभयो ‘धेरैमा समस्या आयो भने नयाँ ढंगले अघि बढ्नु पर्छ तरपनि बुधबारबाट जसरी पनि काम अघि बढाउनु पर्छ भन्नेमा हामी छौं ।’
विराटगनर महानगरपालिकाले स्वाब संकलन कार्यमा ३२ जना स्वास्थ्यकर्मीहरुलाई प्रत्यक्ष संलग्न गराएको छ । विभिन्न समूह बनाएर कार्य विभाजन गरी स्वाब संकलनको कामलाई व्यवस्थित गरेको र फ्रन्टलाइनमा बसेर कामगर्ने स्वास्थ्यकर्मीहरु सँधैं जोखिममा रहने भएकोले समय समयमा परीक्षण जरुरी हुने उहाँले बताउनुभएको छ । महानगरपालिकाले जैन भवनलाई स्वाब संकलन केन्द्रको रुपमा प्रयोग गर्दै आएको छ ।
महानगरले थप १५ जना स्वास्थ्यकर्मीहरुलाई ब्याकअपमा पनि राखेको छ । यि मध्ये केहीमा कोरोना संक्रमण पाइएमा रिजर्भ टोलीबाट काम चलाउन सकिने प्रवन्ध गरिएको छ ।
दुई दिनदेखि स्वाब संकलन रोकिदाँ कन्ट्रयाक्ट ट्रेसिङमा परेकामध्ये तीन जना सम्पर्कमा आएको र उनीहरुमा लक्षण देखिएकोले आज सोमबार कोशी अस्पताल पठाएर स्वाब संकलन गरिएको महनगरले जनाएको छ । दुई दिनमा झण्डै ४ सय जना सम्भावित संक्रमितको स्वाब लिन नपाउँदा केही दिन चाप पर्ने सम्भावना भने बढेको छ । ‘हामी प्राइमरी कन्ट्याक्टमा रहेकाहरुलाई पहिलो चरणमा बोलाएर स्वाब संकलन गर्छौं, त्यसै पनि संक्रमण पुष्टि भएका व्यक्तिसँग सम्र्कमा पुगेकाहरुबाट पाँच दिनपछि मात्र स्वाब लिने गरिएकोले दुई दिन रोकिदैमा समस्या हुँदैन’, अलीले भन्नुभयो ।