मोरङमा ६४ सहित प्रदेश १ मा ८६ संक्रमित थपिए

विराटनगर । मोरङमा ६४ जनासहित गएको २४ घण्टामा प्रदेश १ मा ८६ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार शनिबार प्रदेशमा ५४ पुरुष र ३२ महिलालाई संक्रमण पुष्टि भएको छ ।

संक्रमण देखिएकामध्ये विराटनगरमा ४० जना छन् । जसमा २१ पुरुष र १९ महिला रहेका छन् । यस्तै रंगेलीमा ६ पुरुष र ३ महिला गरि ९ जना छन् । धनपालथान गाउँपालिकामा ५ महिला, जहदामा ३, बुढीगंगामा २, सुन्दरहरैचामा २, सुनवर्षी, कानेपोखरीमा १/१ जनालाई संक्रमण देखिएको छ ।

उता सुनसरीमा १७ पुरुष र २ महिला गरि १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ९ पुरुष र २ महिला गरि ११ जना, रामधुनीमा ५ पुरुष र बर्जुमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ । यसैगरी ओखलढुङ्गा, तेह्रथुम र उदयपुरमा १/१ जनामा संक्रमण देखिएको छ ।

शनिबार प्रदेशभरी १ हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेशमा अहिलेसम्म ६४ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ ।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १९०७ पुगेको छ । अहिलेसम्म प्रदेशमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ । जसमध्ये ९ जना मोरङका हुन् भने ४ जना प्रदेश नं. २ का हुन् ।

शनिबार, ३१ साउन, २०७७, दिउँसोको ०३:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर