प्रदेश सरकार असफल भएको काँग्रेसको आरोप

विराटनगर । नेपाली काङ्ग्रेसले प्रदेश नम्बर १ सरकार कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारमा पूर्ण रुपमा असफल भएको आरोप लगाएको छ ।

शनिबार भर्चुअल पत्रकार सम्मेलन गरी नेपाली प्रदेशसभामा नेपाली काँग्रेसका प्रमुख सचेतक कार्कीले सरकारले सत्तामा रहने नैतिक अधिकार पनि गुमाइसकेको टिप्पणी गर्नुभयो ।

कोभिड–१९ उपचार केन्द्र पर्याप्त अक्सिजन, भेन्टिलेटर र शय्या अभाबमा कोरोना संक्रमितहरुको अकालमा ज्यान गइरहेको भन्दै कार्कीले प्रदेश सरकारले कामभन्दा धेरै हल्ला मात्र गरिरहेको दावी गर्नुभयो । ‘विराटनगरमा १० दिनमा के–के न गरेँ भनेर प्रचार गर्दै चैत २१ गते कोभिड–१९ अस्पतालको उद्घाटन गरेको थियो’, उहाँले भन्नुभयो, ‘तर, ३ करोडभन्दा बढी खर्च गरेर सञ्चालनमा ल्याइएको अस्पतालमा अक्सिजनको अभावमा बिरामीहरू छट्पटाएर मृत्युको मुखमा पुग्ने अवस्था दुर्भाग्यपूर्ण छ ।’

कार्कीले उद्घाटनका अवसरमा प्रदेश सरकारले विराटनगरको कोभिड–१९ अस्पताललाई लेभल–२ को बनाइने घोषणा गरेको भएपनि विरामीले सहज रुपमा शौच जानसमेत नपाएको अवस्थाले सरकारको दावी हावादारी भएको पुष्टि हुने बताउनुभयो । अस्पतालमा बिरामीलाई भेडाबाख्राझैँ राखिएको र न्यूनतम मानवीय व्यवहारसमेत नगरिएको उहाँको दावी छ ।

प्रदेशमा सयौं कोरोना संक्रमित विरामीहरुआइसोलेसनबाट बाहिर आफ्नै घर वा डेरामा छट्पटाएर बसिरहेको भन्दै कार्कीले मुख्यमन्त्री शेरधन राईले भने सरकारले घरघरमा सेवा दिएको हावादारी भाषण दिइरहेको टिप्पणी गर्नुभयो । प्रदेश सरकार कति अनैतिक धरातलमा उभिएको छ भनेर यसैबाट स्पष्ट हुने कार्कीको भनाइ छ ।

कोरोना महामारीको नाममा सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै कार्कीले धरानको कोभिड अस्पताल निर्माणमा खर्च भएको १२ करोड रुपैयाँको हिसाब सार्वजनिक गर्न माग गर्नुभयो । प्रारम्भिक अवस्थामै कोभिड–१९ को नियन्त्रण र सङ्क्रमितको उपचारका सवालमा प्रदेश सरकार अकर्मण्य र विफल सावित भएको भन्दै उहाँले सरकारकै कारण आज कोरोना नलागेका विरामीले पनि उपचार नपाएर अकालमा ज्यान गुमाउनु परिरहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीको मिलेमतमा प्रतिष्ठानको जग्गा माफियालाई दिने गर्ने चलखेल सुरु भएको आरोप पनि कार्कीले लगाउनुभएको छ । सरकारले कुनैपनि भेला, बैठक, समारोह र जात्रा मनाउन बन्देज लगाएका बेला प्रतिष्ठानको सिनेटको बैठक काठमाडौंमा बसाउनु आपत्तीजनक रहेको उहाँको भनाइ छ ।

 

शनिबार, ३१ साउन, २०७७, दिउँसोको ०२:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर