छुट्टै पिसिआर मेसिन खरिद गर्दै महानगर

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस परीक्षणमा हुँदै आएको ढिलासुस्ती व्यवस्थापन गर्न छुट्टै पिसिआर मेसिन खरिद गर्ने तयारी गरेको छ ।

स्वाब संकलन गरेको निकै दिनपछि मात्र परीक्षणको रिपोर्ट आएको भन्दै जनस्तरबाट आलोचना हुने क्रम बढेपछि महानगरपालिकाले पिसिआर मेसिन खरिद गर्ने र परीक्षणलाई छरितो बनाउने निष्कर्श निकालेको हो ।

पिसिआर मेसिन खरिद गर्न सहज भएपनि ल्याब स्थापना र सञ्चालन गर्न सजिलो नहुने भएकोले महानगरले सार्वजनिक निजी साझेदारी अन्तरगत ल्याब सञ्चालन गर्ने योजना बनाएको छ । सोही अनुसार महानगरले कोशी अस्पताल विराटनगरसँग साझेदारी गरेर पिसिआर मेसिन सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

कोशी अस्पतालमा रहेको प्रयोगशालामा थप एउटा पिसिआर मेसिन महानगरले उपलव्ध गराउने र सञ्चालन तथा जनशक्तिमा पनि आवश्यकताका आधारमा साझेदारी गर्ने प्रस्ताव महानगरले गरेको छ । त्यस विषयमा थप छलफल गरी अघि बढ्ने सहमति भएको र महागरले पिसिआर मेसिन खरिद गर्ने प्रकृया पनि अघि बढाएको प्रमुख भीम पराजुलीले जानकारी दिनुभएको छ ।

विराटनगर महानगरपालिकाले आफुले संकलन गरेको स्वाब प्रदेश प्रयोगशाला मार्फत परीक्षण गराउँदै आएको छ । दैनिक ५०० को संख्यामा परीक्षण गर्नुपर्ने अवस्था भएपनि प्रयोगशालाको क्षमता र त्यहाँको चाप व्यवस्थापन गर्नुपर्ने भएकोले महानगरले अहिले २०० हाराहारीमा मात्र परीक्षण गराउने गरेको छ । यही समस्या समाधान गर्न महानगरले पिसिआर मेसिन खरिद गरेर कोशी अस्पतालसँग साझेदारीमा सञ्चालन गर्दा सहज हुने निष्कर्श निकालेको प्रमुख पराजुलीले जानकारी दिनुभयो ।

शनिबार, ३१ साउन, २०७७, दिउँसोको ०२:०३ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर