मोरङ अदालतका थप एक कर्मचारीमा कोरोना

विराटनगर । मोरङ अदालतका थप एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा गराएको कोराना परीक्षण रिपोर्ट अनुसार बिहीबार थप एक जना कर्मचारीमा कोरोना देखिएको हो ।

यसअघि मोरङ अदालतका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको अदालतका निमित्त श्रेस्तेदार तथा सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टि भएका न्यायाधीश होम आइसुलेशनमा छन् ।

न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएपछि अदालतमा कार्यरत ५२ जनाको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएकामध्ये थप एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको पौडेलले जानकारी दिनुभयो ।

आइतबादेखि अत्याआवश्क मात्र सेवा दिने

२६ साउनमा मोरङ अदालतका एक जना न्यायाधीशलाई कारोना संक्रमण पुष्टि भएपछि बन्द भएको अदालत आइतबारदेखि खुल्ने भएको छ । अदालतमा कार्यरत सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरेपछि पूर्ण रूपमा सेनिटाइज गरेर एक सातापछि अदालत खुल्ने भएको हो ।

आइतबारदेखि खुल्ने अदालतले अतिआवश्यक मात्र सेवा प्रवाह गर्ने भएको अदालतका निमित्त श्रेस्तेदार पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अत्यावश्यक सेवाहरूमा अभियोग दर्ता भएपछि अदालतमा हुने थुनछेक बहस, पूक्राउ पूर्जी जारी, म्याद थप, १५५ निवेदन र बालवालिका सम्बन्धी निवेदनका सेवाहरू मात्र प्रवाह हुने जानकारी गराउनु भयो ।

न्यायाधीशमा कोरोना पुष्टि भएपछि अदालतले सुरूमा २६ साउनदेखि २९ सम्म तीन दिन अदालत बन्द हुने सूचना जारी गरेको थियो । बिहीबार थप एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि आइतबारदेखि सेवा प्रवाह गर्ने भएको हो ।

शुक्रबार, ३० साउन, २०७७, दिउँसोको १२:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर