विराटनगर । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्माण भएको चार महिनापछि सञ्चालनमा आएको कोभिड १९ अस्पतालमा लक्षण भएका कोरोना संक्रमित राख्न थालिएको छ ।
लेभल थ्रीको सय बेडको कोभिड अस्पताल बुधबार तयार भएपछि बिहिबार साँझबाट लक्षण भएका विरामी सारिएको अस्पतालका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।
अस्पतालको आइसोलेसन वार्डमा रहेका १६ जनालाई कोभिड अस्पतालाई सारिएको छ । यस्तै इर्मजेन्सीको इ एरियामा रहेकाहरुलाई पनि सारिएको छ । इर्मजेन्सी, गाइनोका साथै गोठगाउँ आइसोलेसनबाट आएका एक जना र विजयपुर हस्पिटलबाट गएका एक संक्रमित पनि कोभिड अस्पतालमा नै लगिएको छ ।
अस्पतालमा ९ वटा भेन्टिलेटर रहेकोमा ५ वटा मुख्यमा जडान गरिएको छ भने ३ वटा शंकास्पद एरियामा र एउटा पेडियाट्रिक आइसियुको लागि जडान गरिएको छ । अस्पतालमा आइसियु बेड १० वटा छ भने २ वटा बच्चा बेड र २० वटा एचडीयु युनिट रहेको छ । यो अस्पतालमा एउटा पोर्टेवल अल्ट्रासाउण्ड पनि जडान भइसकेको छ ।
गत बैशाखमा उद्घाटन गरिएको अस्पताल लामो समय सञ्चालनमा नआउदा चर्को आलोचना भइरहेको थियो । अस्पताल सञ्चालनमा ध्यान नदिएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेविसंघले उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकक्षमा नै तालाबन्दी गरेको थियो ।
प्रतिष्ठानले १२ करोड खर्चे बनाएको अस्पताल सञ्चालन नहुँदा प्रतिष्ठानमा पेईङ वार्ड र धर्मशालामा भेन्टिलेटरसहित कोरोना सङ्क्रमितहरूको उपचार हुँदै आएको थियो ।
सय बेड क्षमताको सो अस्पताल सञ्चालनमा आउनुले दैनिक बढ्दै गएका कोरोना सङ्क्रमितहरूको उपचारमा सहजता आउने विश्वास गरिएको छ ।