विराटनगर । कोशी अस्पताल विराटनगरमा बिहीवार मृत्यु भएका बिराटनगर १५ का ३० वर्षीय युवकमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।
विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय गुप्ता थरका पुरुषको पहिलो पिसिआर रिपोर्ट नेगेटिभ आएकोमा शंका लागेर पुनः परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएका ती युवकलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । उनको अपरन्ह ४ बजे आईसोलेसनमा मृत्यु भएको थियो । मृत्यु अगाडि संकलन गरिएको स्वाब परिक्षणमा नेगेटिभ देखिएकोमा पुनः स्वाब संकलन गरेर परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा। चुमनलाल दासले जानकारी दिनुभयो।
कोरोनासग मिल्दाजुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा भर्ना गरेर उनको उपचार सुरु गरेको थियो । तर, रिपोर्ट नआउँदै बिहीबार उनको मृत्यु भयो । बिहान संकलन गरिएको स्वाबको रिपोर्ट बेलुका नेगेटिभ आयो । तर रिपोर्ट शंकास्पद लागेपछि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
शुक्रबार बिहान ७ बजे प्राप्त भएको दोस्रो रिपोटमा धेरै भाइसरस भएको ‘स्ट्रोङ्ग कोरोना पोजेटिभ’ रिपोट आएको अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताउनुभयो । स्वाब संकलन र परीक्षणमा बढी परिश्रम गर्नु परे पनि रिपोर्ट पोजेटिभ आएकाले कोरोना अन्यत्र फैलन सक्ने ठूलो खतरा हटेको उहाँको भनाइ छ ।
पीसीआर परिक्षणको रिपोर्ट ७० प्रतिशत मात्र सही हुने प्रयोगशालाका बिज्ञले बताउदै आएका छन । मेसिनको अवस्था र संकलन गरिएको स्वाबका कारण कहिलेकाहीँ पोजेटिभलाई नगेटिभ देखाउन सक्ने प्राविधिकहरु बताउँछन् ।
युवकको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै विराटनगरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । यसअघि विराटनगर–९ का दुई जना, ३, ५ र १० नम्बर वडाका एक–एक जनाको मृत्यु भएको थियो ।
बिहीबार नै सिरहाका ४० वर्षीय पुरुषको कोशी अस्पतालमा मृत्यु भएको थियो ।