नेपालमा कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु

विराटनगर। बुधबार एकैदिन कोरोना भाइरसको संक्रमणबाट नेपालमा ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन अहिलेसम्मकै धेरैको मृत्यु भएको हो । मन्त्रालयले ८ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेपनि त्यसयता ३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवल कोरोना विशेष अस्पताल र कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा एक÷एक जनाको मृत्यु भएको छ । यस्तै सप्तरी संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा, महोत्तरी र बारामा मृत्युपछि संक्रमण पुष्टि भएको छ ।

योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने ९१ जनाको पुष्टि गरेको छ ।

पाटन अस्पतालमा जनकपुर घर भएकी ३८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । उनी मेनेन्जाइटिसकी बिरामी थिइन् ।

यस्तै ललितपुरको मेडिसिटी अस्पतालमा पनि उपचाररत एक कोरोना संक्रमतिको मृत्यु भएको छ । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि उनी २० दिन अगाडी अस्पताल भर्ना भएका थिए।

यसैगरी ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भएकी ७८ वर्षीया महिलामा पनि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएकोमा बुधबार विहान रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई राजविराज नगरपालिका–६ मा बस्दै आएका ७२ वर्षीय वृद्धको मृत्यु भएको छ। मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन लैजाने क्रममा एम्बुलेन्समै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

यस्तै, रुपन्देहीको बुटवल धागो कारखानास्थित आइसोलेसनमा एक संक्रमितको मृत्यु भएको छ। कपिलवस्तुको कपिलवस्तु नगरपालिका २ का अन्दाजी ४२ वर्षीय पुरुषको मंगलबार राति २ बजे मृत्यु भएको हो । उनमा हिजोमात्रै कोरोना पुष्टि भएको थियो ।

यता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङको बुढीगंगा घर भएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बूढीगंगा–२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो ।

बारा कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणपछि उपचारका क्रममा ललितपुरको किस्ट मेडिकल कलेजमा निधन भएको छ।

काठमाडौंको ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका १४ धुवाँकोटका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै वीरगञ्जको सडकमा मृत फेला परेका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका ३८ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो ।

सोमबार राम जानकरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका–६ का ५२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल, बुटवलमा मंगलबार राति मृत्यु भएको छ । उनी २५ गते भर्ना भएका थिए ।

विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको बुधबार मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका विराटनगर ५ का ५७ वर्षिय पुरूषको बुधबार अपरान्ह ५ बजे मृत्यु भएको अस्पतालका डा. दिपक सिग्देलले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनालाई गरिएको पीसीआर परीक्षणमा ४ सय ८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । जसमध्ये ७ हजार ६ सय १३ संक्रिय संक्रमित छन्।

बुधबार, २८ साउन, २०७७, साँझको ०५:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर