विराटनगर । हरेक वर्ष विराटनगरमा भव्यताका साथ मनाइने गरिएको राधाकृष्ण रथयात्राको ५२ औं सृङ्खला खटयात्रामा सीमित भएको छ । २०२५ सालदेखि खटयात्रालाई व्यवस्थित र भब्यता प्रदान गर्दै रथयात्राको रुपमा नगर परिक्रमा गर्ने परम्परा बसालिएकोमा यस पटक कोरोना कहरका कारण रथयात्रा सम्भव भएन ।
बिक्रम सम्बत १९८८ सालदेखि श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट खटयात्राको रुपमा राधाकृष्णको मुर्तिलाई नगर परिक्रममा गराउने प्रचलन विराटनरमा आरम्भ भएको थियो । खटयात्राको इतिहास अनुसार ९० औं सृङ्खला भक्तजनविहीन यात्रामा सीमित हुन पुगेको हो ।
बुधबार खटयात्राको परम्परालाई संकटपूर्ण अवस्थामा पनि निरन्तरता दिने उद्देश्यले रथयात्रा आयोजक समितिले गाडीमा खट राखेर राधाकृष्णको मुर्तिलाई नगरपरिक्रमा गराइएको छ । सडकमा लाखौं भक्तजनको भीड हुने विराटनगरमा बुधबार खटयात्रा भएको सुईको समेत धेरैले पाएनन् । यद्यपी रथयात्राको निरन्तरता भने भएको छ ।
खटयात्रामा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली आयोजक समितिका संयोजक बाबुराजा ओझा लगायतको उपस्थिति थियो ।