काठमाडौँ । दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव मकवानपुरमा खोलामा भेटिएको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रको खोलामा भेटिएको हो ।
बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो ।
बानियाँ पछिल्लो पटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जनाएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनितर्फ लागेको देखिएको प्रहरीले जनाएको छ ।
पुलमुनि हिलैहिलो भएको अवस्थामा त्यता नजान स्थानीयले आग्रह गर्दा पनि उनी अगाडि बढेको स्थानीयले बताएका छन् । सो स्थानमा उनको जुत्ता हिलोमा अड्किएको पाइएको थियो । त्यसपछि खोलामा बगेका उनको त्यसबेला पहिचान खुल्न सकेको थिएन ।
बानियाँ पछिल्लो पटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । पछिल्लो पटक नेपालको भूमि चिनले अतिक्रमण गरेको समाचार लेखेपछि उनको समाचार कान्तिपुरमा आएको थिएन ।

