विराटनगर । कोरोना भाइरसको महामारीबीच यो वर्ष प्रदेश १ मा सतप्रतिशत धान रोपाई हुने देखिएको छ । गत वर्ष ९० प्रतिशत मात्र रोपाई भएको प्रदेश १ मा आइतबारसम्म ९६ प्रतिशत रोपाईं भइसकेको छ ।
समयमै वर्षा भएको कारण प्रदेशमा रोपाई अन्तिम चरणमा पुगेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा.राजेन्द्र उप्रेतीका अनुसार प्रदेश १ मा आइतबारसम्म ९५.८४ प्रतिशत रोपाई सम्पन्न भएको छ । ‘प्रदेश १ मा रोपाईको प्रतिशत अन्तिम चरणमा पुगेको छ’ प्रवक्ता उप्रेतीले भन्नुभयो, ‘साउनभरीमा सतप्रतिशत रोपाई हुने अवस्था छ ।
अहिले तराइको केही भागमा कृषकले सनपाट लगाएका छन् । सनपाट बाली निकालेपछि कृषकले धान रोप्ने भएको कारण अहिले तराइको केही भूभागमा रोपाई बाँकी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा धान रोपाई हुने ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमध्ये ३ लाख २६ हजार ६ सय ५६ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ ।
कुन जिल्लामा कति रोपाई ?
प्रदेशको सबैभन्दा बढी अन्न उत्पादन हुने झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी रोपाई भएको छ । तीन जिल्लामा २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोमा २ लाख १७ हजार ४ सय १८ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको मन्त्रालयले जनाएको छ । यो कुल क्षेत्रफलको ९६.२९ प्रतिशत हो । झापामा ९८, मोरङमा ९६ र सुनसरीमा ९४ प्रतिशत रोपाई भएको छ ।
प्रदेशको ८ जिल्लालाई समेटेको उच्च पहाडी क्षेत्रमा ९४.५७ प्रतिशत रोपाई भएको छ । जसमध्ये पाँचथरमा ८८, इलामा ९७, भोजपुरमा ९८, तेह्रथुममा ९२, धनुकटामा ८७, उदयपुरमा ९६, ओखढुंगामा सतप्रतिशत र खोटाङ्गमा ९५ प्रतिशत धान रोपाई भएको मन्त्रालयले जनाएको छ ।
यसैगरि उच्च पहाडी जिल्लामा ९६.४७ प्रतिशत रोपाई भएको छ । जसमध्ये ताप्लेजुङ्गमा ९५, संखुवासभामा ९७ र सोलुखुम्बुमा सतप्रतिशत रोपाई भएको मन्त्रालयले जनाएको छ । गत वर्ष साउन २५ गतेसम्म ८९ दशमलप ९९ प्रतिशत मात्र रोपाई भएको थियो ।