प्रदेश १ मा कोरोना संक्रमण दर बढ्दो, जताततै लकडाउन

साउन ६ गतेसम्मको तीन महिनामा ८२४ जनामा देखिएको कोरोना त्यसयताको १४ दिनमा ३४७ जनामा देखियो

विराटनगर । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि प्रदेश १ का स्थानीय तहले धमाधम लकडाउन गरेका छन् ।

सरकारले चैत ११ गते गरेको लकडाउन साउन ६ गतेबाट खुल्ला गरेकोमा त्यसयता प्रदेशमा कोरोनाको संक्रमण थप विस्तार भएको छ ।

साउन ६ गतेसम्म प्रदेशमा ८२४ जना कोरोना संक्रमित रहेकोमा त्यसयताको १४ दिनमा मंगलबारसम्म संक्रमितको संख्या ११ सय ७१ पुगेको छ । प्रदेशमा सबैभन्दा पहिले वैशाख ५ गते उदयपुरमा कोरोना संक्रमण देखिएको थियो । त्यसको ३ महिनामा ८२४ संक्रमित पाइएकोमा साउन ६ गतेयताको १४ दिनमा ३४७ जनामा संक्रमण देखिएको छ ।

यसअघि विदेशबाट आएका र उनीहरुको सम्पर्कका रहेकाबाहेक एकाधमा मात्र संक्रमण देखिएकोमा पछिल्लो समयमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित स्थानीयमा पनि संक्रमण देखिएको छ । कोरोनाकै कारण मोरङका २ जनाले ज्यानसमेत गुमाईसकेका छन् ।

प्रदेश १ सरकारले पनि समुदायमा कोरोना फैलिएको जनाइसकेको छ । तर, त्यसको नियन्त्रण र रोकथामको लागि प्रभाबकारी काम हुन सकेको छैन । अस्पतालमा बेड अभाब हुन थालेको छ भने व्यवस्थापन पनि लथालिङ्ग भएको भन्दै आलोचना भइरहेको बेला सरकारले ध्यान दिन सकेको छैन ।

कोरोना थप फैलिन नदिन परीक्षणलाई विस्तार गर्नुपर्नेमा प्रदेश सरकार र संघीय सरकारले आवश्यक सहयोग नगरेको भन्दै स्थानीय तहहरुले लकडाउन थालेका हुन् । समुदायमा फैलिएको कोरोनालाई थप विस्तार हुन नदिन लकडाउनको विकल्प नभएको उनीहरुको भनाइ छ । लकडाउन नहुँदा शहरी क्षेत्रमा भिडभाड बढेको तथा सामाजिक दुरी र सतर्कता सर्वसाधारणले नअपनाएको भन्दै कफ्र्यु वा निषेधाज्ञा लगाउनुपर्ने मागसमेत उठिरेहको छ ।

कोरोना संक्रमण समुदायमा पुगेपछि विराटनगर महानगरपालिकासहित मोरङको रंगेली, रतुवामाई र सुन्दरहरैचामा लकडाउन गरिएको छ । यसैगरी सुनसरीको धरान, इटहरी, बराहक्षेत्र, इनरुवासहितको क्षेत्रमा लकडाउन भएको छ । उता झापाको विर्तामोड र अर्जुनधारामा लकडाउन गरिएको छ ।

विराटनगरमा ३० गतेसम्म लकडाउन
कोरोना भाइरस संक्रमणको बढेसँगै विराटनगर महानगरपालिकाले गत शनिबारदेखि १४ दिनको लागि लकडाउन गरेको छ । महानगरपालिकामा ट्राभल हिष्ट्री नभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्थानीयमा कोरोना देखिएपछि समुदायमा कोरोना फैलिएको निश्कर्षसहित लकडाउन गरिएको हो ।

महानगरपालिकाले लकडाउनको पालना गर्न र घरबाहिर ननिस्कन, हिँडडुल नगर्न, बजार–पसल खुुल्ला नराख्न, सवारी साधन सञ्चालन नगर्न, सामूहिक रुपमा भेटघाट नगर्न र मास्क लगाउन सबैमा माइकिङ गरिरहेको छ । नगरप्रमुख मेयर भीम पराजुलीका अनुसार बुधबारदेखि नगर क्षेत्रका बैकहरु पनि बन्द गर्न आह्वान गरिएको छ ।

लकडाउनका क्रममा खाद्यान्न, तरकारी, फलफुल, औषधि पसल, दूध, पानी, ग्यास–इन्धन, अक्सिजन, वारुणयन्त्र, एम्बुलेन्स, आइसिपीबाट आउने सवारी, सरसफाई, सञ्चार बाहेकका अन्य सम्पूर्ण सेवामा रोक लगाइएको छ । संक्रमण फैलावटको ‘सर्कल ब्रेक’ गर्नका लागि विकल्प नभएकाले ‘लकडाउन’ गरेर पूर्ण रुपमा कार्यान्वयन गराउनैपर्ने बाध्यात्मक अवस्था आएको मेयर पराजुलीको भनाई छ ।

हालसम्म महानगरमा कोरोना भाइरसबाट संक्रमितको संख्या १५० पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।

रतुवामाई नगरपालिकामा १० दिने शिल
मोरङको रतुवामाई नगरपालिकाले बुधबारदेखि १० दिनसम्म नगरक्षेत्र पूर्णरुपमा शिलबन्दी गर्ने निर्णय गरेको छ । रतुवामाई घर भएका रंगेली स्थित रक्त सञ्चार केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि नगर क्षेत्रलाई १० दिनसम्म शिलबन्दी गर्ने निर्णय भएको हो ।

नगरपालिकाले नगरका सबै वडा कार्यालयहरु, संघसंस्था, सहकारी, वित्तीय संस्थाहरु सबै बन्द गर्ने निर्णय गरेको छ ।

सुन्दरहरैचामा ९ दिनका लागि लकडाउन
मोरङको सुन्दरहरैचा नगरपालिकामा ९ दिनका लागि लकडाउन गरिने भएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले साउन २२ गते बिहीबारदेखि लागू हुनेगरी ९ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनमा होटल, ब्युटीपार्लर, सैलुन, फुटसल, जिमखाना, हटिया, बजार, सार्वजनिक यातायात बन्द हुने भएका छन् । त्यस्तै, नगरपालिका कार्यालय र वडा कार्यालयबाट हुने सेवाहरू बन्द गर्ने निर्णय गरेको र अत्यावश्यक काम हुनेले मास्क लगाएर मात्र हिँड्न पाइने निर्णय गरेको छ ।

रंगेलीमा चार वटा वडा शिल
एकै दिन २२ जानामा कोरोना संक्रमण देखिएपछि मोरङको रंगेली नगरपालिकाका चारवटा वडा मंगलबार बिहानैबाट शिल गरिएको छ । मोरङको पुरानो सदरमुकाम रंगेलीका ४, ५, ६ र ७ नम्बर वडा शिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले बताउनुभयो ।

संक्रमित भेटिएका र उनीहरुले हिँडडुल, भेटघाट एवं जमघट गरेका सबै वडा तीन दिनका लागि शिल गरिएको छ । नगरपालिकाले बजार क्षेत्र, बजारको पूर्व मधुवनी चौकदेखि सुनवर्षी नगरपालिका पश्चिम, चिसाङ खोला, उत्तरमा निचामारी बक्राह खोला पुल र दक्षिणमा भन्सार गेट क्षेत्रलाई लक्षित गरेर चारवटै वडा सिल गरेको हो ।

सोमबार नगरमा २२ जनालाई एकै पटक कोरोना देखिएको थियो । ती मध्ये १४ जना एउटै परिवारका छन् । रंगेलीमा सोमबार भेटिएका २२ जना संक्रमित मध्ये पाँचजना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी र तीनजना रंगेली अस्पतालका कर्मचारी छन् । अस्पतालका कर्मचारीमा संक्रमण पुष्टि भएपछि मंगलबारबाट रंगेली अस्पतालको आकस्मिक बाहेकका सबै सेवाहरु अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको छ ।

सुनसरीमा सार्वजनिक सवारीमा रोक
संक्रमण बढेपछि सुनसरीमा ढुवानीबाहेकका सवारी संचालनमा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम थपिएको भन्दै यस्तो निर्णय गरेको हो। बैठकले रिक्सा, टेम्पो, म्याजिक, माइक्रोलगायत भाडाका साधन संचालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ।

दिउँसो १२ देखि ४ बजेसम्म अत्यावश्यकबाहेकका बजार, पसल खोल्न दिने निर्णय छ। यस्तै सीमामा थप कडाई गर्ने निर्णयसमेत भएको छ।

धरानमा ७ दिन लकडाउन
सुनसरीको धरानमा बुधबार राति १२ बजेबाट लागु हुनेगरी एक साता लकडाउन हुने भएको छ। धरान उपमहानगरपालिकाको बैठकले समुदायमा संक्रमण फैलिएको अनुमान गर्दै एक साता लकडाउन गर्ने निर्णय गरेको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिनुभयो ।

पछिल्लो समय धरानमा समुदायमै कोरोना संक्रमण फैलिएको विज्ञहरुले बताएकोले परीक्षण गरेर एकिन गर्न लकडाउन गरिएको हो । जनस्वास्थ्यविद्हरुसँग छलफल गरी लकडाउनको निर्णय भएको उपमेयर सुवेदीले बताउनुभयो । समुदायमा संक्रमण फैलिएको यकिन गर्न ५ सय बढीको परीक्षण गर्ने तयारी छ ।

इटहरीमा ५ दिने लकडाउन
इटहरी उपमहानगरपालिकासमेत ५ दिनका लागि लकडाउन गरिएको छ। मंगलबार बसेको कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको इटहरी उपमहानगर स्तरीय आकस्मिक बैठकले २५ गते राति १२ बजेसम्मका लागि लकडाउन गरेको हो ।

इटहरीस्थित यातायात कार्यालय २३ गतेसम्मका लागि बन्द गरिएको छ। इटहरीमा मंगलबार एकैदिन ११ जनामा कोरोना देखिएपछि लकडाउन गरिएको हो ।

इनरुवामा ६ दिने लकडाउन
सुनसरी सदरमुकाम इनरुवा नगरपालिका ६ दिनका लागि लकडाउन गरिएको छ। इनरूवामा २६ गतेसम्म बैंक तथा वित्तीय संस्थासहित पूर्ण लकडाउनको घोषणा गरिएको हो।

दुहबीमा १४ दिने लकडाउन
दुहबीमा दुई साताको लागि लकडाउन गरिएको छ। दुहबी नगरपालिकाका कर्मचारीसहित ४ जनामा कोरोना पुष्टि भएसँगै लकडाउन गरिएको हो।

अति आवश्यकबाहेकका काममा बाहिर निस्कन र पसल खोल्न नगरपालिकाले रोक लगाएको छ। पसल खोले ५ हजार रुपैयाँ जरिवाना गर्ने नगरपालिकाले चेतावनी दिएको छ।

बराहक्षेत्रका तीन वडा सिल
सुनसरीको बराहक्षेत्र नगरपालिकामा तीन वडा सिल गरिएको छ। एकजना कपाल काट्ने हजामलाई कोरोना संक्रमण देखिएपछि बराहक्षेत्र नगरपालिकाका ५, ६ र ८ नम्बर वडा सिल गरिएको मेयर निलम खनालले जानकारी दिनुभयो।

बराहक्षेत्र नगरपालिकाको चक्रघट्ट बजारमा सैलुन संचालन गर्दै आएका ३६ वर्षीय पुरुषलाई ज्वरो आएपछि स्वाब संकलन गरी बिपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । संक्रमितले २ सयभन्दा बढीको कपाल काटेको देखिएको छ । सिल गरिएका वडामा संक्रमितसँग कपाल काट्ने व्यक्तिको खोजी भइरहेको मेयर खनालले बताउनुभयो।

रामधुनी, भोक्राहा, हरिनगरा र कोशीमा पनि लकडाउन
रामधुनी नगरपालिका, भोक्राहा नर्सिङ गाउँपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका लगायतलेसमेत लकडाउन गरेका छन्।

बिर्तामोड अनिश्चितकालिन लकडाउन
झापाको बिर्तामोड नगरपालिकाले सोमबार रातिबाट लकडाउन गरेको छ । विर्तामोडमा सोमबार राति १२ बजेदेखि लकडाउन गरिएको हो ।

कोरोना भाइरसको सङ्क्रमण समुदायमा पुगेकाले थप सङ्क्रमण फैलिन नदिन लकडाउन गर्नु परेको नगर प्रमुख ध्रुबकुमार सिवाकोटीले जानकारी दिनुभयो । खाद्यान्न तथा तरकारी पसल विहान ८ बजेदेखि ११ बजेसम्म खुल्नेछन् भने औषधि पसल बाहेक अन्य पसल र सवारी साधन सञ्चालन बन्द गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कारोबार पनि बन्द गरिएको छ ।

अर्जुनधारामा ५ दिने लकडाउन
झापाको अर्जुनधारा नगरपालिकाले आइतबारदेखि ५ दिनका लागि नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी ९सीसीएमसी०को शनिबार आकस्मिक बैठक बसेर लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि उक्त निर्णय गरेको हो । अर्जुनधारा नगर क्षेत्रमा पनि समुदायमा कोरोना भाइरस संक्रमित फेला परिसकेकाले थप समुदायमास्तरमा फैलनसक्ने सम्भावना रहेको भन्दै उक्त निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताउनुभयो ।

शिवसताक्षीका साप्ताहिक हाट बन्द
झापाको शिवसताक्षी नगरपालिकाले नगरभित्र साप्ताहिक रुपमा लाग्दै आएको हाट बजार बन्द गरेको छ। कोरोना नियन्त्रण तथा राहत व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले लकडाउन खुकुलो भएपछि साप्ताहिक रुपमा लाग्दै आएको बजार बुधबारदेखि बन्द गर्ने निर्णय गरेको हो।

कोरोनाको संक्रमण फैलन नदिन नगरका बढी भीडभाड हुने बजार र धार्मीक तथा पर्यटकीय स्थल भदौ २ गतेसम्म बन्द गरिएको नगरप्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिनुभयो । समितिको निर्णयलाई अटेर गरेर जबरजस्ती गरे संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने उनले बताए। सो ऐनमा १ महिना कारागार वा १ सय रुपैँया जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।

बुधबार, २१ साउन, २०७७, दिउँसोको १२:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर