विराटनगर । मोरङमा २० जनासहित प्रदेश १ मा ४३ जना नयाँ संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार मोरङमा मंगलबार देखिएको संक्रमित मध्ये १५ पुरूष र ५ जना महिला हुन् ।
विराटनगरमा ८ जना संक्रमण देखिएको छ । विराटनगरमा देखिएको संक्रमित मध्ये कोशी अस्पतालका स्टाफ नर्ससहित तीन जनामा संक्रमण देखिएको छ । दुई जना नर्स र एक जना सफाइ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको कोशी अस्पतालका सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिनुभयो ।
दासका अनुसार कोशी अस्पतालमा मंगलबारसम्म संक्रमितको संख्यामा ११ पुगेको छ । कोशी अस्पतालका तीन कर्मचारीसहित विराटनगरमा मंगलबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।
संक्रमितहरू विराटनगर ७ की २६ वर्षीया महिला, विराटनगर ८ की ३० वर्षीया महिला, विराटनगर ११ का ४१ वर्षीय पुरुष र ९ वर्षीय बालक, विराटनगर १२ का ३३ र ३२ वर्षीय पुरुष, विराटनगर १३ का ३२ वर्षीया महिला र विराटनगर १४ का पुरुष छन् । संक्रमितमध्ये ४१ वर्षीय पुरुष र ९ वर्षीय बालक बाबुछोरा हुन् ।योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १५० पुगेको विराटनगर महानगरपालिकाले जनाएको छ ।
यस्तै मंगलबार झापामा ८ जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै सुनसरीमा ११ पुरूष र १ महिला गरि जम्मा १२ जना, इलामा २ पुरूष र जिल्ला नखुलेका १ जना कोरोना संक्रमण देखिएको छ ।