बेलबारीका सबै वडामा प्रयोगशालासहितको स्वास्थ्य सेवा बिस्तार हुँदै

सहुलियत दरमा प्याथोलोजी सेवा

विराटनगर । स्थानीय नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले बेलबारी नगरपालिकाले आफ्नो ११ वटै वडामा प्याथोलोजी प्रयोगशाला स्थापनाको तयारी गरेको छ । सरकारी स्वास्थ्य सेवाप्रतिको विश्वास बढ्न थालेपछि सबै वडामा प्रयोगशाला सहितको स्वास्थ्य सेवा विस्तारमा नगरपालिका अघि बढेको हो ।

बेलबारी नगरपालिकाले बाहुनी प्राथमिक स्वास्थ्य केन्द्रमा सिमित प्याथोलोजी प्रयोगशाला विस्तार गरेर कसेनी, डाँगीहाट र बेलबारी स्वनस्थ्य चौकीमा विस्तार गरेको छ । सेवा विस्तारसँगै सेवाग्राही स्थानीयहरुले सस्तोमा सेवा पाएको र निजी क्लिनिकमा जानेहरु सरकारी स्वास्थ्य केन्दमा आकर्षित भएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभएको छ । उहाँले सरकारी स्वास्थ्य सेवाप्रति जनविश्वास बढेकोले सबै वडामा बिस्तार गर्ने तयारी भइरहेको र चालु आर्थिक वर्षमा नै सबैमा ल्याबसहितको स्वास्थ्य सेवा दिइने बताउनुभयो ।

अघिल्लो वर्ष प्रयोगशाला सेवा विस्तार भएपछि कसेनी, डाँगिहाट र बेलबारीका स्थानीयलेले स्वास्थ्य चौकीबाटै रगत, शिा, पिसाब आदिको सुलभ शूल्क परीक्षण गर्न पाएका छन् । स्वास्थ्य चौकीहरुले साधारण भन्दा थप ‘एलएफटी’ जाँचसमेत गर्ने गरेको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सन्तोष विश्वकर्माले जानकारी दिनुभएको छ । प्रयोगशालाहरुबाट थाइराईड र कल्चर सेवा बाहेक साधारणतया आवश्यक पर्ने सबै जाँचहरु हुने गरेको उहाँले बताउनुभएको छ ।

सेवा बिस्तारसँगै स्वास्थ्य चौकीमा आएर सेवा लिने बिरामीको संख्या निकै बढेको नगरपालिकाले जनाएको छ । स्वास्थ्य चौकीमा प्रयोगशाला थप गरेपछि बेलबारीका निजी प्रयोगशाला र क्लिनिक सञ्चालकहरुले नगरपालिसँग गुनासो नै गरेका थिए । उनीहरुले निजी क्षेत्र विरोधी गतिविधि गरेको भन्दै नगरपालिकाप्रति असन्तुष्टि जनाएको प्रमुख सुवेदीले बताउनुभयो ।

बेलबारी स्वास्थ्य चौकीका पछिल्लो समय गर्भ परीक्षण गराउन आउने महिलाहरुको संख्या अधिक छ । ‘आफ्नै ल्याब भएपछि नागरिकले सस्तोमा सेवा पाएका छन्,’ हेल्थ असिस्टेन्ट विश्वकर्माले भन्नुभयो ‘निजी क्लिनिकहरुले एएनसी प्याकेजमा २ हजार लिने गरेकोमा स्वास्थ्य चौकीबाट पाँच सयमै सेवा पाउने भएपछि ९५ प्रतिशत गर्भवतीहरुले स्वास्थ्य चौकीबाटै सेवा लिने गर्नुभएको छ ।’

अघिल्लो आर्थिक वर्षमा नै नगरपालिकाले चार वटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको छ । ति वडाहरुमा यसै वर्ष प्रयोगशाला स्थापना गरी सेवा आरम्भ गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । वडा नम्बर ११, ८ र ४ मा भवन निर्माणको काम जारी रहेकोले नगरपालिका छिट्टै सेवा आरम्भ गर्ने तयारीमा छ ।

बेलबारी नगरपालिकाले बेलबारी, कसेनी र डाँगीहाटबाट सुरक्षित गर्भपरीक्षण सेवा आरम्भ गर्ने तयारी गरेको छ । एक ठाउँबाट दिइदै आएको सेवा विस्तारबाट थप सेवाग्राहीले सेवा पाउने विश्वास नगरपालिकाले जनाएको छ ।

सबै वडामा स्वास्थ्य सेवा विस्तार गरेपछि स्थानीय नगरबासीले खोप सेवा, सुरक्षित मातृत्व सेवा, निशुल्क औषधि सहजरुपमा प्दान गर्न सकिने नगरपालिकाले जनाएको छ ।

मङ्गलबार, २० साउन, २०७७, दिउँसोको १२:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर