मोरङका ४६ सहित सोमबार प्रदेश १ मा ५७ संक्रमित थपिए

मुख्य न्यायाधीवक्ता, ७ जना प्रहरी, न्युरो अस्पतालका ३ नर्स, कोशी अस्पतालका २, म्याक्स अस्पतालका १ र विराट मेडिकल कलेजका एक जनामा कोरोना

विराटनगर । मोरङका ४६ जनासहित प्रदेश १ मा सोमबार ५७ जनालाई कारोना संक्रमण देखिएको छ ।

सोमबार गरिएको परीक्षणमा मोरङमा ४६ जना संक्रमित थपिएका हुन् । जसमध्ये विराटगरका २२ जना छन् ।

समुदायमा संक्रमण फैलिएपछि लकडाउन घोषणा भएको विराटनगर महानगरपालिकाभित्र थप २२ जनालाई कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । विराटनगरमा भेटिएका संक्रमितमध्ये ७ जना १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी हुन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा १६ जना पुरूष र ६ जना महिलामा संक्रमण देखिएको छ । संक्रमितहरुमध्ये प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता चुढामणी आचार्यसहित उनको परिवारका अन्य दुई सदस्य पनि छन् ।

विराटनगरमा देखिएका संक्रमतिमध्ये न्यूरो हस्पिटलका ३ जना नर्स र म्याक्स अस्पतालका एक जना कर्मचारी छन् । यस्तै कोशी अस्पतालमा कार्यरत थप २ जना स्वास्थ्यकर्मी र विराट मेडिकल कलेजमा कार्यरत एक जनामा पनि कोरोना देखिएको छ ।

मोरङकै रंगेली नगरपालिकामा पनि २२ जनालाई कोरोना पोजेटिभ देखिएको छ । रंगेलीमा १३ पुरूष र ९ महिलामा संक्रमण देखिएको हो ।

यस्तै कटहरी गाउँपालिकामा २ जना महिलामा संक्रमण देखिएको छ । उता सुनसरीमा ५ जनालाई संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । इटहरीमा ३, धरान र इनरुवामा १/१ जनालाई संक्रमण देखिएको हो ।

सोमबार झापामा ६ जनालाई संक्रमण देखिएको छ । झापाको अर्जुनधारमा ५ पुरूष र बिर्तामोडमा १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सोमबार, १९ साउन, २०७७, दिउँसोको ०२:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर