मुख्य न्यायाधिवक्तामा कोरोनाः संक्रमणको स्रोत खुलेन

विराटनगर । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश १ सरकारका उच्चपदस्त पदाधिकारीमा देखिएको कोरोनाको स्रोत भने खुलेको छैन ।

विराटनगरमा हिस्ट्री नखुलेका ५० जनाभन्दा बढिमा कोरोना देखिएपछि महानगरपालिकाकाले लकडाउन गरेको छ । लकडाउनपछि शनिबार कुनै परीक्षण नभएकोमा आइतबार १२ जनामा कोरोना देखिएको थियो भने सोमबार मुख्यन्यायधिवक्तासहित १८ जनामा कोरोना देखिएको छ ।

विराटनगर ५ निवासी मुख्य न्यायाधीवक्ता आचार्यसहित उहाँको परिवारका दुई सदस्यमा पनि कोरोना देखिएको छ । आचार्यले आफू पछिल्लो १० दिनयता घरमै रहेको बताउनुभएको छ । उहाँलाई १० दिन अगाडि सामान्य ज्वरो आएकोमा अन्य लक्षण देखिएको छैन ।

आइतबार आचार्यसहित परिवारका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको र खासै लक्षण नरहेको आचार्यले जानकारी दिनुभयो । धेरै मिटिङमा सहभागी भएको र सुरक्षाकर्मीसँग पनि सम्पर्क हुने गरेकोले कहाँबाट कोरोना स¥यो भन्ने यकिन नरहेको उहाँको भनाइ छ ।

आचार्य १० दिन अगाडि मुख्यमन्त्री ड्यासबोर्डको उद्घाटन कार्यक्रममा सहभागी हुनुभएको थियो । कार्यक्रममा मुख्यमन्त्रीसहित मन्त्रीहरु र प्रदेश सरकारका उच्च पदस्त कर्मचारीहरुको सहभागिता रहेको थियो ।

आचार्यलाई कोरोना कहाँबाट सरेको हो भन्ने ट्राभल हिस्ट्री नखुल्दा प्रदेश सरकारका कर्मचारीहरु पनि तनाबमा छन् । कोरोना संक्रमित आचार्यसहित तीनै जनालाई सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पताल धरान लैजाने तयारी छ ।

सोमबार प्रदेश प्रहरी कार्यालय विराटनगरका ७ प्रहरीमा पनि कोरोना देखिएको छ । यसैगरी विराटनगर महानगरपालिका ७ का ४ जना र विराटनगर ६ का १ जनामा कोरोना देखिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

कोशी अस्पतालमा कार्यरत थप २ जना र विराट मेडिकल कलेजमा कार्यरत एक जनामा पनि कोरोना देखिएको छ । योसँगै महानगरपालिकाभित्रका कोरोना संक्रमितको संख्या १ सय ३८ पुगेको छ ।

सोमबार, १९ साउन, २०७७, दिउँसोको ०१:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर