विराटनगर । प्रदेश १ सरकारका उच्च पदाधिकारीसहित विराटनगरमा थप १८ जनामा कोरोना संक्रमण भेटिएको छ ।
सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार प्रदेश सरकारको कानून हेर्ने विराटनगर ५ निवासी उच्च ओहोदाका व्यक्तिसहित उनकी श्रीमति र छोरामा समेत कोरोना पुष्टि भएको छ ।
कोरोना संक्रमण देखिएका उनले आफ्नो परिचय भने मिडियामा नखुलाउन आग्रह गरेका छन् । सरकारका उच्च ओहोदाका व्यक्तिमा कोरोना भेटिएपछि कोरोनाको संक्रमण विराटनगरमा व्यापक भइसकेकको अनुमान गरिएको छ ।
कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरका ७ प्रहरी कर्मचारीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित प्रहरी ४१,४२,३७,२५,३५ २४ र ३३ वर्षका छन् ।
यसैगरी विराटनगर महानगरपालिका ७ का ४ जना र विराटनगर ६ का १ जना कोरोना संक्रमित थपिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । महानगरपालिकाले संकलन गरेको स्वाबबाट विराटनगर ७ की ३० र ३६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ। सोही वडाका २५ र ४५ वर्षका पुरुष र वडा नम्बर ६ का २४ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।
कोशी अस्पतालमा कार्यरत थप दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एक जनामा पनि कोरोना देखिएको छ । योसँगै महानगरपालिकामा १ सय ३८ जनामा संक्रमण भएको छ ।