विराटनगर । नापी कार्यालय विराटनगरका कर्मचारी र मोरङ कारागारका २ जना बन्दीसहित विराटनगरमा आइतबार १३ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरका ८ पुरुष र ४ महिलासहित मोरङमा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
विराटनगरमा नापी कार्यालयका २ कर्मचारी, मोरङ कारागारका २ जना र विराटनगरका विभिन्न वडाका ८ जनामा कोरोना देखिएको बिराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । यस्तै बुढिगंगाको १ जना, कटहरीको २ जना र ग्रामथानको १ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी सुनसरीको धरानमा क्वारेन्टाइनमा बसेका ११ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमित देखिएका नापीका कर्मचारी एक जना खरिदार र एक जना सुरक्षागार्ड रहेको विराटनगर महानगरपालिकाले जनाएको छ । कारागारका संक्रमित भने कैदि हुन् कि सुरक्षाकर्मी भन्ने खुलिनसकेको र कन्ट्याक टेसिङको काम भइरहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिकामा यसअघि १०८ जनामा कोरोना देखिएपछि लकडाउन गरिएको छ । आइतबार १३ जना थप भएसँगै महानगरपालिकाभित्रका कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।