विराटनगर । इलामस्थित सशस्त्र प्रहरी गणमा कार्यरत २७ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
यसअघि गणमा कार्यरत १० जनामा कोरोना देखिएको अन्यको स्वाब परीक्षण गर्दा शनिबार थप १७ जनामा कोरोना संक्रमण देखिएपछि गणलाई सिल गरिएको छ ।
गणमा शुक्रबार ५ जना र साउन ११ गते ५ जनामा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि ४० जनाको स्वाब संकलन गरी परीक्षण गर्न पठाउँदा १७ जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजिटिभ देखिएका सबै जनालाई मोरङको गोठगाउँस्थित आइसोलेसनमा पठाइएको गणका प्रमुख सुरधिरजंग थापाले जानकारी दिनुभयो ।
क्याम्पमा रहेका जवानदेखि प्रहरी नायब उपरीक्षकसम्मलाई कोरोना पोजिटिभ देखिएको छ । गणमा रहेका अन्य ४३ जनाको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी भइरहेको छ ।
भारतीय सीमा क्षेत्र र विभिन्न क्वारेन्टिनहरूमा गस्तीमा खटिएका टोलीबाट गणमा कोरोना संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।