विराटनगर । विराटनगरमा अवस्था गम्भीर भएपछि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मृत्यु भएका कोरोना संक्रमित व्यक्ति मोरङको सुनवर्षीका भएको खुलेको छ ।
प्रतिष्ठानको भेन्टिलेटरमा उपचाररत मोरङको सुनवर्षी नगरपालिका ८ का ४५ बर्षीय संक्रमित पुरुषको बुधबार पानै ५ बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार बुधबार दिउँसो अत्यन्तै सिकिस्त अवस्थामा विराटनगरको कोशी अस्पतालबाट प्रतिष्ठान पुगेका थिए । समन्वय नगरी एम्बुलेन्स चालकले लिएर संक्रमित आएको भन्दै उनको भर्नामा पनि ढिलाई भएको थियो ।
कोशी अस्पतालका डा.लक्ष्मीनारायण यादवका अनुसार ज्वरो र श्वासप्रश्वासाको समस्या देखिएपछि ती व्यक्ति अस्पतालको फिबर क्लिनिकमा मंगलबार आएका थिए । उनको अस्पतालले स्वाब संकलन गरी अस्पतालको आइसोलेशनमा भर्ना गरेको थियो । मंगलबार राति प्रदेश जनस्वास्थय प्रयोगशालमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।
केही दिनदेखि खोकी लाग्न थालेपछि मंगलबार उनी विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि आएका थिए । डा. यादवका अनुसार गोल्डेन अस्पतालले कोरोना संक्रमणको आशंकामा कोसी अस्पतालमा मंगलबार नै रेफर गरेको थियो ।
बुधबार विहानबाट विरामीको अवस्था थप जटिल देखिएपछि भेन्टिलेटरमा राख्नुपर्ने भन्दै कोशीबाट धरान रेफर गरिएको डा.यादवले जानकारी दिनुभयो । विराटनगरको कोभिड १९ उपचार केन्द्रको भेन्टिलेटरमा समस्या भएपछि बीपीका डा. सन्दिप शर्मासँग समन्वय गरी विरामीलाई धरान पठाएको कोशी अस्पतालका डा. डेन आचार्यले जानकारी दिनुभयो ।
प्रतिष्ठानले भने समन्वय नगरी विरामी ल्याएको भन्दै भर्ना गरी उपचारमा ढिलाई गरेको थियो । विराटनगरबाट विहानै पठाएको कोशी अस्पतालले भनेपनि प्रतिष्ठानले दिउँसो १ बजे मात्र आइपुगेको बताएको छ ।
भारत ससुराली भएका संक्रमित व्यक्ति त्यहाँबाट १० दिन अगाडि नेपाल आएको खुलेको छ । उनमा यसअघि पुरानो अन्य रोग भए नभएको खुलेको छैन ।
योसँगै प्रतिष्ठानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ । मृत्यु हुने प्रदेश १ का पहिलो व्यक्ति हुन् । यसअघि मृत्यु भएका २ जना प्रदेश नम्बर २ का थिए ।