विराटनगर । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले गत आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश सरकारले चालुतर्फ ६४.५६ र पुँजीगततर्फ ७५.७९ प्रतिशत खर्च भएको जानकारी दिनुभएको छ ।
प्रदेशसभा बैठकको शुन्य तथा बिशेष समयमा सांसदहरुले उठाएका आर्थिक मामिला तथा योजना मन्त्रालयसँग सम्बन्धित प्रश्न तथा जिज्ञासाका सम्बन्धमा बिहीबार जवाफ दिनुहुँदै मन्त्री आङ्बोले यस्तो बताउनुभएको हो ।
गत आर्थिक वर्षमा चालु र पुँजीगत अपेक्षित खर्च भएको भन्दै मन्त्री आङ्बोले प्रदेश सरकारको खर्च गर्ने क्षमता उच्च नै रहेको दाबी गर्नुभयो । गत आर्थिक वर्षमा प्रदेश सरकारले कुल ७०.८३ प्रतिशत बजेट खर्च गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।
मन्त्री आङ्बोले बजेट खर्चको सन्दर्भमा प्रदेश नं. १ अन्य ७ वटै प्रदेशहरुको तुलनामा सबैभन्दा अगाडि रहनु सफलता भएको उल्लेख गर्नुभयो । अन्य प्रदेशहरुको बजेट खर्चको स्थिति हेर्दा सबैभन्दा न्युन प्रदेश नं. २ मा ४५.१२ प्रतिशत बजेट खर्च भएको छ । त्यसपछि प्रदेश नं. ६ मा ४६.८२ प्रतिशत र प्रदेश नं. ५ मा ६६.३५ प्रतिशत बजेट खर्च भएको मन्त्री आङ्बोले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउन कारण उत्पन्न असहज परिस्थितिमा पनि ७०.८३ प्रतिशत बजेट खर्च हुनु आफैमा पनि सकारात्मक बिषय हो ।’
बजेटको कमी भएकोले पनि अझै खुलेर खर्च गर्न नसकिएको मन्त्री आङ्बोको भनाइ छ । ‘प्रदेशको आन्तरिक राजश्व र संघीय सरकारको राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम गरि झण्डै ५ अर्ब प्रदेश सरकारले प्राप्त गर्न सकेन’ उहाँले भन्नुभयो, ‘जसकारण भुक्तानी र खुलेर खर्च गर्नसक्ने क्षमतामा पनि बे्रक लाग्यो ।’
कोरोना भाईरसको प्रकोपका कारण उद्योग व्यावसाय लगायतका सम्पुर्ण निजी क्षेत्रहरु ठप्प हुँदा प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा अपेक्षित राजश्व संकलन गर्न नसकेको पनि मन्त्री आङ्बोले जानकारी दिनुभयो । राजश्व बाँडफाँड र आन्तरिक राजश्व संकलनमार्फत पनि प्रदेश सरकारले अपेक्षा गरेकोभन्दा २८.७६ प्रतिशत कम अर्थात ७१.२४ प्रतिशत मात्र आम्दानी गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षमा रोजगारी सिर्जना गर्ने र उत्पादनशील क्षेत्रमा जोड दिने विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनुहुँदै मन्त्री आङ्बाले चालु आर्थिक वर्षमा समग्र बजेटलाई सन्तुलन गर्ने वर्ष र आर्थिक पुनरुत्थानको वर्षका रुपमा लिन सबैलाई आग्रह गर्नुभयो ।