विराटनगर । लागुऔषध प्रयोगकताृलाई चिकित्सकको सिफारिसविना औषधी बिक्री वितरण गर्ने एक जना फार्मेसी सञ्चालकसहित तीन जना मोरङको बेलबारीबाट पक्राउ परेका छन् ।
चिकित्सकको ‘प्रेस्क्रिप्सन’ विना औषधी बिक्री वितरण गर्न नपाउने भएपनि पैसाको लोभमा फार्मेशी सञ्चालकले लागूऔषध प्रयोगकर्तालाई औषधी विक्री वितरण गर्ने गरेको पाइएको छ ।
प्रदेश प्रहरी कार्यालयको कमाण्डमा रहेको क्षेत्रीय अनुसन्धान समूह (रिट) ले बेलबारी नगरपालिका – ६ सोमबारेमा शुसाङकुमार चौधरीले सञ्चालन गरेको शुसाङ टेक्निकल क्लिनिक’ बाट अनुचित प्रयोग गरिने तयारी गरिएको ठूलो परिणामा औषधी बरामद गरेको छ । लागूऔषध प्रयोगकर्तालाई विक्री गर्ने तयारी गरिएको अवस्थामा प्रहरीले मंगलबार फार्मेशीले भण्डार गरेर राखेको औषधी बरामद गरिएको हो ।
प्रहरीले सुशान्त मेडिकल हलबाट ट्रामाडोल ५० एमजीको ७ हजार ९ सय ८० पिस, डिकोलिक २० एमजिको १ हजार पिस, स्पास्मो ३० एमजिको २८० पिस, स्पासेपन २० एमजिको ४ हजार पिस, एम्टिकप ४५ एमजिको १ सय ९८ पिस बरामद गरेको छ । बरामद गरेको औषधी अस्पतालभित्र रहेको फार्मेशीबाहेक अन्यले विक्री वितरण गर्न नपाउने व्यवस्था छ ।
चिकित्सकको प्रेस्किप्सनविना बिक्री वितरण गर्न नपाउने औषधी भण्डार गरेर राखेको देखिएको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रामाडोललगायतको औषधी चिकित्सकको सिफारिसविना बिक्री गर्न नपाउने निर्णय विभागको छ ।
ट्रामाडोल दुखाई कम गर्ने औषधी हो । तर, उक्त औषधी र अन्य विभिन्न औषधी मिक्स गरि लागूऔषध प्रयोगकर्ताहरूले सेवन गरि नशा लिने गरेको बताइन्छ । अनुचित प्रयोग गरि लागूऔषध प्रयोगकर्तालाई औषधी विक्री गर्ने तयारी गरिएको अवस्थामा प्रहरीले शुसाङ मेडिकल हलबाट २ जना लागूऔषध प्रयोगकर्तालाई पनि पक्राउ गरेको छ ।
प्रहरीले सुसाङ टेक्निकल हलका सञ्चालक स्थानीय १९ वर्षीय सुसाङकुमार चौधरीलाई पक्राउ गरेको छ । यस्तै औषधी खरिद गर्न पुगेका सुनसरीको धरान १७ फोक्लान टापुका २१ वर्षीय किशानलाल चौधरी र बेलबारी ५ का २३ वर्षीय शिवजी चौधरी पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जना लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको औषधी आवश्यक कारवाहीको लागि नेपाल औषधी व्यवस्था विभाग विराटनगरमा पठाउने तयारी गरेको छ ।