विराटनगर । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएका महोत्तरी घर भएका ६० वर्षीय वृद्धको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो ।
उनको मृत्युसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जीवकुमार शर्माकाअनुुसार कोरोना संक्रमण देखिएपछि वृद्ध साउन १ गते उपचारका लागि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए ।
बिरामीमा रुघाखोकी र ज्वरो आएको थियो। अस्पताल ल्याएको दिन उनको स्वाब परीक्षण गरिएकोमा पोजिटिभ देखिएको थियो ।
कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको मंगलबार राति नै नेपाली सेनाको समन्वयमा महोत्तरी लगेर दाहसंस्कार गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा यसअघि सप्तरीका ७३ वर्षीय वृद्धको कोरोनाकै कारण निधन भएको थियो ।
योसँगै कोरोना संक्रमण भएर प्रदेश १ मा उपचारका लागि भर्ना भएकामध्ये दुई जनाको मृत्यु भइसकेको छ । प्रतिष्ठानमा हाल ११ जना संक्रमितको उपचार भइरहेको छ । अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका कोरोना संक्रमितमध्ये २ सय ६७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

