विराटनगर । महानगरपालिकाहरु मध्ये विराटनगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन अनुसार विराटनगरको बेरुजु सबैभन्दा कम १.९९ प्रतिशत मात्र रहेको छ ।
महालेखाले ७ अर्ब ३९ करोड ४९ लाख रुपैयाँ बराबरको आम्दानी खर्चको लेखापरीक्षण गर्दा १४ करोड ७४ लाख रुपैयाँ हिसाब बेरुजु देखिएको हो । बेरुजु रकम मध्ये५ करोड ८० लाख रुपैयाँ पेस्की फस्र्यौट नभएका कारण देखिएको प्रतिवेदनमा उल्लेख छ ।
विराटनगर महागनरपालिकामा गत वर्ष थपिएको १४ करोड बेरुजुसहित फस्र्यौट हुन बाँकी बेरुजु रकम ७१ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा धेरै ललितपुर महानगरपालिकामा बेरुजु देखिएको छ । ललितपुर महानगरपालिकाको बेरुजु १४.०३ प्रतिशत रहेको छ । अन्य महानगरपालिकाको तुलनामा उक्त बेरुजु रकम अधिक हो । ललितपुर महानगरपालिकाको ६ अर्ब २८ करोड ९५ लाख रुपैंयाको आम्दानी खर्चको लेखापरीक्षण गर्दा ८८ करोड २५ लाख रुपैयाँ बेरुजु रहेको छ । बेरुजु रकम मध्ये पेश्की फस्र्यौट नभएको रकम ४४ करोड २६ लाख रुपैंया रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । हालसम्म ललितपुरको बेरुजु १ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
काठमाण्डौ महानगरपालिकाको बेरुजु पनि उच्च देखिएको छ । कुल १५ अर्ब २० करोड ३२ लाख रुपैयाँको आम्दानी खर्च लेखापरीक्षण गर्दा ९.४७ प्रतिशत अर्थात एक अर्ब ४३ करोड ९४ लाख रुपैंया बेरुजु देखिएको हो । जसमध्ये ११ करोड ६२ लाख रुपैंयाँ पेस्की फस्र्यौट नभएका कारण बेरुजु देखिएको हो । काठमाण्डौ महानगरको बेरुजु बढेर २ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
विराटनगरपछि कम बेरुजु रहेको महानगरपालिका भरतपुर हो । भरतपुर नगरपालिकामा गत वर्ष ३.३५ प्रतिशत अर्थात २२ करोड ४५ लाख रुपैयाँ बेरुजु देखिएको छ । ६ अर्ब ६९ करोड ८४ लाख रुपैयाँको लेखापरीक्षण गर्दा उक्त बेरुजु देखिएको हो । भरतपुर महानगरपालिकामा हालसम्म ९७ करोड ६ लाख रुपैयाँ बेरुजु कायम भएको देखिएको छ ।
पोखरा महानगरपालिकामा बेरुजु ७ प्रतिशत देखिएको छ । बीरगञ्ज महानगरपालिकामा ९.९३ प्रतिशत रहेको छ ।